लगानी, प्रविधि र पर्यटनमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई मल्लको आह्वान

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । 

चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रीज एण्ड कमर्सका अध्यक्ष फान जियाओबोसँग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरेका हुन् ।

भेटका क्रममा निवर्तमान उनले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताए ।

नेपालमा चिनियाँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यवसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । 

उनले भने, ‘चीनदेखि भारत सीमा सम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ ।’

नेपालले भौगोलिक रुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए ।

नेपालमा होटल पूर्वाधारमा लगानीमार्फत चिनियाँ पर्यटक आकर्षित गर्न सकिने मल्लले बताए ।

नेपालका सुन, तामा, युरेनियम लगायतका खानीहरूको प्रचुर सम्भावनालाई औंल्याउँदै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए ।  

उनले चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको बताए । 

उनले भने, ‘चीनबाट २.५३ अर्ब डलर बराबरको आयात हुँदा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’

यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए ।

चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवद्र्धन गर्न आफूहरू प्रयासरत रहेको बताए ।

उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिवद्धता जनाए ।

नेपालको कृषि र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि पहल गरिने पनि उनले बताए।
 

Share News