सामूहिक राजीनामाको तयारीमा राजदूतहरू

काठमाडौं । अन्तरिम सरकारले दोहोर्याएर पत्राचार गरेपछि विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरू स्वदेश फर्कने तयारीमा रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे पहिले नै नेपाल फर्किसकेका छन् । 

घिमिरेले नेपाल फर्किएर गत मंगलबार राजीनामा समेत दिएका छन् । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीका अनुसार अन्य सबै राजदूतहरूलाई पनि टिकट पठाइसकिएको छ र उनीहरू आगामी दुई–तीन दिनभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।

सरकारले असोज ३० गतेको निर्णयअनुसार चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल पाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदीलाई समेत स्वदेश फर्कन पत्राचार गरेको थियो । 

सरकारले ती सबैलाई कार्त्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिएको थियो । चीनका लागि राजदूत ओली आइतबार नै बेइजिङबाट काठमाडौं फर्कने तयारीमा छन् भने बाँकी राजदूतहरू पनि फर्किने तयारीमा रहेका छन् ।

ओली निकट स्रोतका अनुसार नेपाल फर्किएपछि सबै राजदूतहरूले संयुक्त रूपमा राजीनामा दिने तयारी गरेका छन् ।

यता उक्त निर्णयविरुद्ध लक्ष्मीप्रसाद पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कार्त्तिक १६ गते अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । 

तर आदेशको भोलिपल्टै सरकारले अर्को पत्राचारमार्फत ती राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । सर्वोच्चको आदेशपछि पनि सरकारले आफ्नो निर्णयमा अडान कायम राखेको देखिन्छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फर्काइएका राजदूतहरूका लागि मन्त्रालयमा बस्ने स्थान र भूमिका अझै तय भएको छैन । फिर्ता बोलाइएका राजदूतहरूको व्यवस्थापनबारे मन्त्रालयमा स्पष्ट योजना नबनेको बताइन्छ । 

प्रवक्ता क्षत्रीका अनुसार सबै राजदूतहरू फर्किने तयारीमा छन् र उनीहरूको अनुभव र दक्षताको उपयोग मन्त्रालयले यथोचित व्यवस्था गर्नेछ ।

Share News