काठमाडौं । एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै मुस्ताङका उच्च लेकमा पालिएका याक चौँरीलाई बेँसीमा स्थानान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरन क्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याक चौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो ।
बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँद याममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खा याममा हिउँ पग्लिन थालेपछि उच्च लेक तथा खर्कमा पुर्याएर याक चौँरीको व्यवस्थापन गर्ने गरिन्छ । मुस्ताङका ५ स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याक चौँरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थानान्तरण गरिने गरिएको छ । यसरी हिउँद याममा हिमपात र चिसो छल्न झारिएका याक चौँरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौँरी पालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताए ।
हिउँद याममा उच्च लेकमा हिउँले चरन क्षेत्र अभाव हुने याक चौँरीलाई घाँस, पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने तथा गोठालालाई पनि हिमपात र चिसोले सास्ती पुर्याउने भएकाले उच्च लेक र खर्कका याक चौँरी क्रमशः बेँसी झारिने गरिएको हो । यसरी झारिएका याक चौँरी बर्खा याममा उच्च लेकका अस्थायी गोठमा लगेर पालन गरिन्छ । बर्खा याममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याक चौँरी व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको ४ हजार मिटरमाथिको उच्च लेकमा याक चौँरी पालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाइ छ ।
मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै १ हजार याक चौँरी हिमपात र जाडो छल्न बेँसी झारिएको समितिका सचिव हिराचनले उल्लेख गरे । त्यसैगरी थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका ८ घरपरिवारका करिब ५ सय याक चौँरी र थासाङ-१ र घरपझोङ-२ मा पर्ने बतासे लेकमा रहेका ६ घरपरिवारका करिब ७ सय याक चौँरी हिमपातसँगै जाडो छल्न बेँसी झारिएको समिति सचिव हिराचनको भनाइ छ ।
मुस्ताङको थासाङ-२ स्थित मार्चे लेकमा १०, मुलिखर्कमा ८ र बतासे लेकमा ६ वटा चौँरीगोठ रहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए । मार्चे लेकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घम्ती गोठ निर्माण भएको उनको भनाइ छ । थासाङ गाउँपालिकाअन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरी पालन व्यवसाय अपनाउँदै आइरहेको वडाध्यक्ष शेरचनले उल्लेख गरे ।
मुस्ताङको घरपझोङ-४ जोमसोमका याक चौँरी पालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब ५ सय बढी चौँरी हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएका छन् । समुद्री सतहको उच्च स्थानमा गोठ खडा गरी पालन गरिएका शेरचन र घर्तीका चौँरी नमुख लेकबाट तलको पारिलो स्थानमा झारिएको हो । भूपेन्द्रले हिउँद याममा चौँरी रेखदेख गर्न समस्या हुने र उच्च लेकमा घाँस र खानेपानीको समस्या हुने भएकाले बेँसी झार्नुपरेको सुनाए । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका गरी सात घरपरिवारले याक चौँरी पालन गरेका उनी बताउँछन् ।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ ताङ्ग्यामा १ र वडा-४ ध्येगाउँमा १ गरी २ घरले करिब ५ हाराहारीमा याक चौँरी पालन व्यवसाय गरेको ताङ्ग्याका कर्मा साङ्वो गुरुङले जानकारी दिए । बर्खायाममा उच्च लेकको कराङमा रहेका चौँरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा राखिएको जानकारी दिए । त्यसैगरी लोघेकर-४ ध्येका चौँरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौँरी बेँसी नजिकको लेकमा ल्याएर राखेको बताए ।
त्यसैगरी माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका लोमान्थाङ र सम्जुङमा पनि चौँरी पालन गरिएको छ । पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा व्यावसायिक याक चौँरी पालन जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँस अभाव हुनु र हिम चितुवालगायत वन्यजन्तुको आक्रमणबाट याक चौँरी लगायत घरपालुवा पशु चौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत संस्कृतिका रूपमा रहेको चौँरी पालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।
मुस्ताङका पालन गरिएका चौँरी तथा याकनाक पालनलाई जलवायुको सङ्कट थपिएको हो । भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौँरी पालनमा परेको छ । मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार निर्माण गर्छन्, चौरीको पुच्छर हिन्दू धर्मावलम्बीहरूले पूजा कोठामा राख्ने भएको यो महँगो मूल्यमा बिक्री हुन्छ ।
मुस्ताङको घरपझोङ र थासाङका याक चौँरी पालकले बर्सेनि वैशाख र भदौमा याक चौँरीको आलो रगत निकालेर दोहोरो फाइदा निकाल्छन् । यहाँ वयस्क याक चौँरीलाई मासुका रूपमा समेत उपयोग गरिने भएकाले एउटै जिउँदो याकको मूल्य १ लाख रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।