काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र क्रियाशील सदस्यता र महाधिवेशनको विषयमा चलिरहेको विवादबारे स्पष्ट धारणा व्यक्त गर्दै पार्टीको मनसाय अधिवेशन नगर्ने नभई विधिअनुसार गर्ने रहेको बताएका छन् ।
उनले विधान अनुसारको परम्परा तोड्ने प्रयास भइरहेको भन्दै त्यसले भ्रम फैलाएको टिप्पणी गरे ।
सहमहामन्त्री यादवका अनुसार नेपाली कांग्रेसको विधानले क्रियाशील सदस्यता वितरणका लागि सात तहको प्रक्रिया तोकेको छ ।
वडा कार्यसमितिबाट सुरु हुने उक्त प्रक्रिया पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेश समितिको अनुमोदनपछि मात्रै केन्द्रमा पुग्ने प्रावधान रहेको उनले बताए ।
‘यसरी सात तह पार गरेर मात्रै क्रियाशील सदस्यता केन्द्रमा पुग्छ । कुनै विवाद भए छानबिन समिति बनाउने परम्परा पनि यही हो,’ यादवले भने ।
यादवले महामन्त्रीहरूलाई घुमाउरो तरीकाले पार्टीको बिधान अनुसार नचलेको आरोपसमेत लगाए । उनका अनुसार पछिल्ला केही समयदेखि पार्टीभित्रका केही व्यक्तिहरूले जनतामाझ गलत सन्देश फैलाइरहेको अवस्था छ ।
‘भनाइ र गराइ फरक भएका पार्टीभित्रका केही साथीहरू बाहिर भ्रम सिर्जना गरिरहनुभएको छ,’ उनले भने, ‘हाम्रो मनसाय अधिवेशन नगर्ने हैन, विधिअनुसार र समयमा गर्ने हो ।’
यादवले क्रियाशील सदस्यताको जिम्मेवारी पार्टी महामन्त्रीकै क्षेत्राधिकारमा पर्ने स्पष्ट पारे ।
‘क्रियाशील सदस्यताको जिम्मा वास्तवमा महामन्त्रीकै हो, उहाँकै अध्यक्षतामा समिति छ । तर चार वर्षसम्म उहाँले के हेर्नुभयो ?,’ उनको प्रश्न छ ।
उनका अनुसार अहिले केन्द्रीय कार्यसमितिको बैठकमा सोही विषयमा पुनः बहस भइरहेको छ।
सहमहामन्त्री यादवले हालको राजनीतिक परिस्थितिमा पार्टीको मुख्य प्राथमिकता आगामी निर्वाचन हुनुपर्ने उल्लेख गरे ।
उनले भने, ‘चार वर्षसम्म निदाएर बस्ने अहिले चुनावको मुखमा आएर महाधिवेशनको कुरा ल्याएर कहीँ निर्वाचनलाई कम महत्त्व त दिन खोजिएको होइन ? वा निर्वाचनलाई सार्न बाध्य त बनाइरहेका होइनौं ?’
सहमहामन्त्री यादवका भनाइमा पार्टीभित्र संगठनात्मक कमजोरी देखिए पनि त्यसको समाधान विधानअनुसार नै सम्भव छ । उनले कांग्रेसको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै तहका नेताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।
यादवको भनाइले हाल कांग्रेसभित्र चलिरहेको क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनको समय निर्धारणबारेको बहसमा नयाँ आयाम थपेको छ । पार्टीभित्रका केही समूहहरूले अहिलेको केन्द्रीय नेतृत्वमाथि अधिवेशन टार्ने रणनीति अपनाएको आरोप लगाइरहेका बेला यादवले त्यसको खण्डन गर्दै पार्टी अधिवेशन विधिअनुसार हुनेछ भन्ने सन्देश दिएका छन् ।
उनले अन्त्यमा भने, ‘हाम्रो लक्ष्य निर्वाचन जित्ने र जनताको भरोसा जित्ने हो । त्यसका लागि सुदृढ संगठन, स्पष्ट नीति र साझा घोषणापत्र आवश्यक छ ।