मधेश प्रदेशका ७३ जना प्रदेशसभा सदस्यहरू काठमाडौं आउँदै, अदालत जाने तयारी

काठमाडौं । मधेश प्रदेशका एमाले बाहेकका ७३ जना प्रदेशसभा सदस्यहरू काठमाडौं आउने तयारी गरेका छन्। 

मधेस प्रदेशका प्रमुखले अकस्मात नेकपा एमालेका नेतालाई मुख्यमन्त्रीको शपथ खुवाएको भन्दै यो असंवैधानिक हर्कतविरुद्ध अदालत जाने तयारी गरेको कांग्रेस मधेश प्रदेशका सभापति श्रीकृष्ण यादवले जानकारी दिए ।

विकासन्युजसँग कुरा गर्दै सभापति यादवले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बन्ने आधार बाँकी छँदै उपधारा ३ मा गएर घोर असंवैधानिक काम गरेको जनाएका छन् ।

‘आफ्नो पक्षमा ७३ जना प्रदेश सांसदहरू रहेको जानकारी प्रदेश प्रमुखलाई दिँदादिँदै पनि उहाँले होटलमा गएर शपथ गराउनु भएको छ । यो घोर असंवैधानिक र निन्दनीय छ । यसको उपचारको लागी हामी अदालत जादैछौं,’ उनले भने ।

‘हामी ७३ जना प्रदेश सभा सदस्यहरु काठमाडौं हिँड्ने तयारी गरेका छौं,’ उनले थपे ।

उनले मधेश प्रदेश प्रमुखले संविधानको कठालो च्याँपेको पनि आरोप लगाए । 

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै आज बिहान कांग्रेस लगायत सात दलका नेता तथा समर्थकले मधेश भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालय र मुख्यमन्त्रीको कार्यालय अगाडि तोडफोड गरेका थिए ।

प्रदेश प्रमुखको विरोधमा नाराबाजी गर्दै उनीहरूले संघीयता विरोधी प्रदेश प्रमुखले राजीनामा दिनुपर्ने मागसमेत गरेका थिए ।

मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा भएको हिंसात्मक गतिविधि नियन्त्रणमा आएको छ । 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक कमल थापाका अनुसार अहिले जनकपुर शान्त भएको छ । विहान केही तोडफोड र टायर बालेर बिरोध प्रर्दशन भएपनि अहिले स्थिति नियन्त्रणमा आएको उनले जानकारी दिए । 

उनका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । अझै यकिन विवरण आइसकेको छैन । 

Share News