एमालेको ‘घर फर्क अभियान’ सुरु, झाँक्रीसहितका नेतालाई एमालेमा स्वागत

काठमाडौं । नेकपा एमालको ‘घर फर्क अभियान’ सुरु भएको छ । सोमबार नेकपा एकीकृत समाजवादीका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई एमालेमा स्वागत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानको सुरुवात गरेका हुन् ।

३ वर्ष पहिले २०७८ भदौ ३ गते एमालेको विभाजनसँगै केही नेताहरू पार्टीबाट बाहिरिएका थिए । अध्यादेशको भरमा २० प्रतिशत सांसद र केन्द्रीय सदस्यहरूले एमाले छोडेपछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो। 

माधव नेपाल नेतृत्वमा गठन भएको उक्त दल र नेकपा माओवादी केन्द्र लगायतका दल एकीकरण प्रक्रियामा गएपछि असन्तुष्ट रहेका नेताहरू एमालेमै फर्किएका हुन् ।

झाँक्री नेकपा एकीकृत समाजवादीकी संस्थापक सचिव रहेकी थिइन् । यस्तै, श्रेष्ठ विघटित प्रतिनिधिसभाका सांसद रहेका थिए । नेकपा एकीकृत समाजवादी र माओवादी एकता विरुद्ध विद्रोह गर्नेहरूमा केन्द्रीय सदस्य गम्भीरलाल श्रेष्ठ, पिताम्वर तिम्सिना, राजाराम स्याङतान पनि एमाले प्रवेश गरेका छन् । 

यस्तै, केन्द्रीय सदस्य श्रीराम महत, केदारप्रसाद गौतम पनि एमालेमा प्रवेश गरेका छन् । सोमबारको कार्यक्रममा जेनजीबाट १३० जना र समाजवादीका १४२ जना केन्द्रीय सदस्यहरू एमाले प्रवेश गरेको एमालेका प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए ।

Share News