जेनजीलाई पनि पार्टी बनाएर चुनावमा आउन प्रधानमन्त्री कार्कीको सुझाव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार (आज) स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी छन् ।

उनले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् ।

संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो । आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरूको धारणा थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता पनि व्यक्त गरे ।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो ।

गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका निम्ति आग्रह गरे ।

स्थानीय सरकारले केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उनले आग्रह गरे ।

प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने बताइन् ।

निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले पनि समन्वय र सहकार्यबाटै अघि बढ्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईंहरूसँग समन्वय र सहकार्य नगरी हुन्न । तपाईँहरुका चासो हामी सम्बोधन गर्छौं । गर्नैपर्छ । चिन्ता नगर्नुहोस् । आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस् । अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ ।’

दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उनले स्पष्ट पारिन् ।

‘दलीय पद्धतिमा दल त हुन्छन् नै । दल नभई हुँदैन । माथि दलका कुरा हुन्छन् । तल स्थानीय तहमा विकासका कुरा हुन्छन् । यी कुराबीच सन्तुलन मिलाएर लैजानुपर्छ,’ उनले भनिन्, ‘आफ्नो काम गर्न छाड्नुहुँदैन । हामीले नै सुधार गर्दै लैजानुपर्छ । ५ वर्षमा २ चुनाव होला भनेर पनि कसैले कल्पना गरेको थिएन। यो हठात् हुन गयो । यो यथार्थ स्वीकार गरेर अघि बढ्नुपर्छ । मुलुक हाम्रै हो । हामीले नै सुधारेर जानुपर्छ ।’

प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिइन् ।

उनले भनिन्, ‘जेनजी छोराछोरी पनि हाम्रै हुन् । पुरानाले बढी ओगटिदिए । मनोमानी गरे । त्यसले विद्रोह जन्मियो । अब दलसँग रिसाएर हुँदैन । तपाईंहरू पनि दल बनाएर जानुहोस् भनेर जेनजीहरुलाई भनेको छु । आफ्नाआफ्ना एजेन्डा लिएर चुनावमा जाने र शान्तिपूर्ण तवरले आफ्ना सुधारका कार्यक्रम लागू गर्ने दिशामा हामी अघि बढ्नुपर्छ ।’

Share News