विदेशमा ‘केयर अर्थतन्त्र’ पेसा नै बनिसक्यो, नेपालमा पनि नीति बनाएर समेट्नु पर्‍यो

काठमाडौं । घरायसी तथा सेवामूलक अर्थतन्त्रको महत्वलाई औपचारिक रूपमै उजागर गर्नुपर्ने विज्ञहरूले धारणा राखेका छन् । नेपाल मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको कार्यक्रममा ‘घरायसी काम तथा सेवामूलक अर्थतन्त्र’ विषयक अन्तक्रिर्यामा उनीहरूले सेवामूलक अर्थतन्त्र फैलिँदै गएकाले विकसित देशहरू झैँ महिला र पुरुषको समान सहभागिताले मात्र यो सम्भव हुने तर्क राखेका हुन ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले नेपालमा अहिलेको अवस्थामा सेवामूलक र घरायसी काममा महिलाहरू नै धेरै खटिने बताए । महिला र पुरुष दुवैले घरायसी तथा सेवामूलक काममा उत्तिकै ध्यान दिनुपर्ने खाँचो रहेको उनको भनाइ छ ।

‘विदेशमा ‘केयर अर्थतन्त्र’ एउटा पेसा नै बनिसकेको छ, हाम्रोमा पनि पेसागत रुपमा अघि बढ्ने अवस्था आउँदै छ । काठमाडौं वा विदेश बस्ने छोराछोरीका बाबुआमालाई यहाँ हेरचाह गर्न कर्मचारी भइसक्यो, राज्यले पनि यसलाई नीति बनाएर समेट्नु पर्याे,’ उनले भने ।

अर्थविद् डा विकल श्रेष्ठले घरायसी तथा सेवामूलक कार्यको योगदानको हिसाब अहिलेसम्म नभएको धारणा राखे ।

‘जबसम्म कुनै पनि मुद्दा देशको अर्थतन्त्रसँग जोडिँदैन, तबसम्म त्यसले प्राथमिकता पाउन गाह्रो हुन्छ । आजको अवस्थामा प्रत्यक्ष रूपमा हेर्ने हो भने हाम्रो अर्थतन्त्रमा यसको योगदान शून्य बराबर छ, किनकि यसबारे अध्ययन नै भएको छैन र घरायसी कामलाई व्यवसायमा जोड्न पनि सकिँदैन,’ उनले भने ।

अधिकारकर्मी ऋतु भट्टले घरायसी कामलाई अर्थतन्त्रसँग जोडेर मात्रै हेर्न पनि नमिल्ने उल्लेख गर्दै पूर्वीय दर्शनले भावना र अध्यात्ममा जोड दिने गरेको सुनाइन् । उनले घरमा गरिने स-साना कामले जीवनलाई आकार दिन निकै महत्वपूर्ण भूमिका खेल्ने भनाइ राखिन् ।

मानवअधिकार चलचित्र केन्द्रका पूर्व अध्यक्ष विष्णु खत्रीले महिलाले औसतमा प्रति साता २९ घण्टा र पुरुषले ५ घण्टा मात्रै घरायसी काममा बिताउने गरेको पाइएको बताए । 

‘यसले महिलाहरूको महत्व उजागर गर्छ । तर हामीले यसबारे अझै विस्तृत अध्ययन गर्न जरुरी छ, पुरुषहरूले पनि घरायसी काममा आफ्नो संलग्नतालाई बढाउनुपर्ने जरुरी छ,’ उनले भने । 

भान्छा, सरसफाइ, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, पाहुना सत्कार, गाईवस्तु रेखदेख, कृषि, चाडपर्व, पूजापाठ, सामाजिक कार्य लगायतलाई सेवामूलक अर्थतन्त्रमा हुन् । यसलाई आर्थिक पाटोसँग जोडेर यसको महत्त्व उजागर गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

त्यस्तै घरायसी सेवामूलक कामलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा पनि सहभागीहरू एकमत भएका थिए । केयर इकोनोमीलाई राज्यले बेलैमा सम्बोधन गर्न नसके भविष्यमा यसले विकराल रूप लिन सक्ने उनीहरूको चेतावनी थियो । उनीहरूलाई सीपसँगै र उद्यममा लगाउन सके देशले ठूलो आर्थिक क्रान्ति गर्ने र केयर इकोनोमीलाई जागिरको रूपमा परिवर्तन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

Share News