काठमाडौं । मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर २ वटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार गएको बताए ।
कोरला नाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी छन् । यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताए ।
‘नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरला नाका हुँदै मानसरोवर पुग्ने धार्मिक पर्यटकीय मार्गको सम्भाव्यता अध्ययनका लागि आएका हौँ,’ उनले भने, ‘हाम्रो पहलले सार्थकता पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौँ ।’
कोरला नाका हुँदै कैलाश मानसरोवर, ल्हासा तिब्बत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरला नाका भएर लुम्बिनीमा ल्याउन यो छोटो मार्ग हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार कोरला नाकादेखि कैलाश मानसरोवर ३ सय किलोमिटर र ल्हासा १ हजार किलोमिटर दूरीमा रहेको छ ।
कैलाश मानसरोवरको दर्शनका लागि कोरला नाकाबाट निकै छोटो, कम खर्चिलो र सहज हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । हाल भारतीय र नेपाली पर्यटकहरू हुम्ला हुँदै मानसरोवर दर्शनका लागि जाने गरेका छन् ।
अहिले भारतीय मार्ग हुँदै जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति २ लाख रुपैयाँ भन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरला नाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने बताइएको छ ।
विसं २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरला नाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियो भने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ ।
पोखरा र काठमाडौंबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै कोरला नाका हुँदै सवारी साधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौं नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
मुस्ताङको बाटो हुँदै कैलाश मानसरोवर जान काठमाडौंबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र ४ सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरला नाका पुग्न सकिन्छ । हवाई मार्ग हुँदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दूरी पार गरेपछि लोमान्थाङ हुँदै करिब साढे ४ घण्टामा कोरला पुग्न सकिन्छ ।
नेचुङ-लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट ३ सय किलोमिटरको यात्रापछि छ घण्टामा कैलाश तथा मानसरोवरमा पुगिने अध्यक्ष गुरुङले बताए। तिब्बती क्षेत्रको सडक सञ्जाल र सवारी साधनसमेत आधुनिक भएकाले यात्रा निकै सहज रहेको उनको भनाइ छ । हिन्दू धर्ममा शिवको बासस्थान भनिने कैलाश समुद्र सतहबाट ६ हजार ६०३ मिटर उचाइमा रहेको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ ।
कोरला नाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जना जनप्रतिनिधिको टोली कोरला नाका हुँदै १ साताका लागि चीन गएका बताए । नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि १५० दिनको ‘अन अराइभल भिसा’ निःशुल्क उपलब्ध गराउनेछ । सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि ५ सय डलर प्रवेश शुल्क तोकेकाले चुनौतीका रूपमा रहेको छ ।