भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

काठमाडौं । पूर्व एमाले उपाध्यक्ष तथा मातृभूमि जागरण अभियानका संयोजक भीमबहादुर रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् । पार्टी प्रवेशका लागि विशेष कार्यक्रम मंगलबार (आज) दिउँसो आयोजना हुने भएको छ ।

रावलले केही महिनाअघि एमालेबाट अलग भएर मातृभूमि जागरण अभियानको नेतृत्व गरेका थिए । अब सो अभियानलाई नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्दै रावल स्वयं पनि पार्टी प्रवेश गर्न लागेका हुन् । 

कार्यक्रमलाई नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेताहरूले संयुक्त रूपमा सम्बोधन गर्ने तयारी रहेको छ ।

रावलले भनेका छन्, ‘राष्ट्रियता, सामाजिक न्याय र सुशासनका विषयमा हाम्रो विचार नेकपासँग मिल्दो छ । देशको समृद्धिका लागि एकीकृत वाम शक्ति आवश्यक भएकाले हामी नेकपामा जाने निर्णयमा पुगेका हौं ।’

एमालेमा रहँदा पार्टीभित्र नीतिगत मतभेद देखिएपछि रावलले २०८१ सालमा मातृभूमि जागरण अभियान स्थापना गरेका थिए । एमालेले उनलाई पार्टी गतिविधिबाट निलम्बन गरेपछि उनले वैकल्पिक राजनीतिक यात्राको सुरुवात गरेका थिए ।

नेकपाको नेतृत्वले रावल र उनको अभियानलाई पार्टीमा समाहित गर्न विशेष पहल गरेको र उनलाई पार्टीको नीति, संगठन र राष्ट्रिय अभियानमा प्रमुख भूमिका दिने तयारी गरेको नेकपाले जनाएको छ । 

नेकपाका अनुसार उक्त पार्टीमा रावललाई उपाध्यक्ष सरहकै जिम्मा दिने तयारी रहेको छ ।

कार्यक्रममा देशभरका अभियान प्रतिनिधि, नेकपाका केन्द्रीय सदस्यहरू र विभिन्न वामपन्थी संगठनका प्रतिनिधिहरूको उपस्थितिको तयारी गरिएको रावलले जानकारी दिए ।

Share News