काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
मंगलबार (आज) ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा मुख्यमन्त्री नियुक्ति संविधानविपरीत भएको दाबी गरिएको छ ।
अदालत परिसरमै रहेका नेपाली कांग्रेसका मधेश प्रदेश सभापति श्रीकृष्ण यादवले रिट दायर भएको पुष्टि गरे ।
रिट दायर गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायतका दलहरू छन् । उनीहरूले प्रदेश प्रमुखले संविधानको मर्म र प्रावधान विपरीत एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।
यस प्रकरणले मधेश प्रदेशमा राजनीतिक अनिश्चितता थपिएको छ । विपक्षी दलहरूले एमाले नेतृत्वको सरकार गैरसंवैधानिक भएको दाबी गर्दै मुख्यमन्त्रीको राजीनामा र वैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठनको माग गरेका छन् ।