औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस्तो छ १० वर्षको विवरण

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष १ हजार ४५४ वटा घटना भएका छन् ।

प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ । गत वर्ष विपद्का कारण १० हजार ८२३ घरपरिवार प्रभावित भएकामा यस वर्ष ५ हजार ९९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर ५२२ जना घाइते भएकामा यस वर्ष ३ सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार, यस वर्ष बाढीका २९२, पहिरोका ५१३, भारी वर्षा ३९७ र चट्याङका २५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा ३ हजार २ सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु, ४ जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने १ हजार ५१८ घरपरिवार प्रभावित भएका छन् ।

भारी वर्षाका कारण ७ जनाको मृत्यु, २० जना घाइते भए भने ९६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, १८९ घाइते हुँदा ३११ घरपरिवार प्रभावित भएका छन् ।

यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन १३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा १ हजार ३७५.४ मिलिमिटर वर्षा भएको छ । जुन सरदर १ हजार ४१५.५ मिलिमिटर वर्षाको तुलनामा ९७.२३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको थियो । 

मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो ।

सरकारले इलामलाई ३ महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र ३ वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो । मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत सायन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग  समन्वय तथा निर्देशन जारी भएको थियो ।
 
यस्तो छ १० वर्षको विवरण

प्राधिकरणका अनुसार, २०७३ सालमा ६४२ विपदजन्य घटना भई २८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा ६२४ वटा विपदजन्य घटनामा परेर २८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा ६९३ विपदजन्य घटनामा परेर १२२ जनाको ज्यान गयो ।

यस्तै, २०७६मा ८४६ विपदजन्य घटनामा परेर २०३ जनाको निधन भएको थियो । यस्तै, २०७७ मा १ हजार १५ विपदजन्य घटनामा परेर ३८२ जनाले अकालमा ज्यान गुमाउनु पर्यो । प्राधिकरणको विवरण अनुसार, २०७८ मा ७३७ विपदजन्य घटनामा परेर १६५ जनाको निधन भयो ।

त्यस्तै, २०७९ मा ७१२ वटा विपदजन्य घटनामा परेर १७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा ८९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा २ हजार १३९ वटा विपदजन्य घटनामा परेर ४९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।

Share News