कांग्रेस केन्द्रीय समितिमा श्याम घिमिरेको प्रस्ताव– कांग्रेस संसद् पुन:स्थापनाको पक्षमा उभिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टी संसद् पुनःस्थापनाको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने सुझाव दिएका छन् । 

जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीले अघिल्लो धारणा र संवैधानिक व्याख्यामा संलग्नता कायम गर्नुपर्ने बताएका हुन् ।

घिमिरेका अनुसार कांग्रेसले यसअघि नै वर्तमान सरकारको गठन प्रक्रिया र संसद् विघटनलाई असंवैधानिक भनेको हुँदा अहिले पुन:स्थापनाको पक्षमा उभिनु पार्टीको राजनीतिक र नैतिक दायित्व हो । 

‘हामीले असंवैधानिक भनिसकेका कुरा सुधार्ने उपाय संसद् पुनःस्थापना हो, त्यसैले कांग्रेसले अब त्यसको पक्षमा नेतृत्व लिनुपर्छ,’ उनले बैठकमा भनेका छन् ।

घिमिरेले हालको राजनीतिक अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि संसद् पुनःस्थापनालाई आवश्यक कदमका रूपमा व्याख्या गरेका छन् । 

उनका अनुसार संविधानको मर्मअनुसार जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल पूरा गर्न पाउनुपर्छ । संसद् विघटनले जनताको अधिकार कमजोर बनाउने उनको भनाइ छ ।

घिमिरेको यो भनाइ कांग्रेसभित्रको जारी छलफलसँग जोडिएको छ, जहाँ नेताहरूबीच सरकारको असंवैधानिकता, आगामी राजनीतिक रणनीति र पार्टीको भूमिकाबारे मतभेद देखिएको छ । 

केही नेताहरूले तत्काल निर्वाचनको तयारीमा जोड दिइरहेका छन् भने केहीले संसद् पुनःस्थापनालाई लोकतन्त्रको निरन्तरताका लागि अनिवार्य ठहर गरिरहेका छन् ।

Share News