रेसुंगा विमानस्थलमा अब हप्तामा चार दिन नियमित उडान हुने

काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलबाट अब हप्तामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले विन्टर सेड्युलअन्तर्गत नयाँ उडान तालिका सार्वजनिक गर्दै यो व्यवस्था लागू गरेको हो । 

नयाँ तालिका नोभेम्बर १२ देखि नोभेम्बर ३० सम्मका लागि प्रभावकारी हुने निगमले जनाएको छ ।

सार्वजनिक तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार काठमाडौं–रेसुंगा–काठमाडौं रुटमा नियमित उडान हुनेछ ।

उडान समयअनुसार आइतबार बिहान सवा ८ बजे  र मंगलबार, बिहीबार र शनिबार बिहान साढे छ बजे उडान हुने व्यवस्था गरिएको छ । यो व्यवस्था रेसुंगादेखि काठमाडाैं रुटमा पनि लागू हुनेछ ।

यो रुटमा निगमले आफ्ना ट्विनटर विमान प्रयोग गर्नेछ । काठमाडौं‌देखि रेसुंगासम्मको उडान समय करिब ४५ देखि ५० मिनेट रहनेछ ।

नेपाल वायुसेवा निगमका अनुसार यात्रुको माग र हावापानीको अवस्थालाई ध्यानमा राख्दै तालिका परिमार्जन गरिएको हो । निगमले रेसुंगा रुटलाई ग्रामीण हवाई सेवा सञ्जालको महत्त्वपूर्ण हिस्सा मानेको छ ।

रेसुंगा विमानस्थलमा नियमित उडान विस्तारले गुल्मी, पाल्पा, स्याङ्जा र आसपासका क्षेत्रका नागरिकका लागि राजधानी आवतजावतमा सहजता र समय बचतको अवसर प्रदान गरेको छ ।

यससँगै, देशका अन्य साना विमानस्थलहरूमा पनि विन्टर सेड्युल अनुसार नयाँ तालिका कार्यान्वयन हुँदै गएको निगमले जनाएको छ ।

Share News