काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीका महामन्त्री गगनकुमार थापामाथि विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने प्रयास गर्न खोजेको आरोप लगाएका छन् ।
‘आफूले गर्नैपर्ने क्रियाशील सदस्यता व्यवस्थापनको काम एक तिहाइ पनि नगर्ने अनि विशेष महाधिवेशनको माग गर्ने?,’ उनले थापालाई सोधेका छन ।
उनले थापालाई ‘क्रियाशील सदस्यता नवीकरण कहिले टुंगिन्छ’ भन्ने प्रश्नसमेत गरे ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्दै बस्नेतले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर संकलनको जिम्मेवारीसमेत महामन्त्री थापाले लिएको भन्दै शंका व्यक्त गरे ।
उनले भने, ‘विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्ने सोच त होइन ?’
बस्नेतले अहिलेको मुख्य प्राथमिकता नेतृत्व परिवर्तन नभई पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीको पुनरावलोकन हुनुपर्ने बताए । उनका अनुसार आजको आवश्यकता नेतृत्व बदल्नु होइन, पार्टीलाई कसरी मजबुत बनाउने भन्ने हो ।
थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका थिए । सो पहललाई केही नेताहरूले सकारात्मक रूपमा लिए पनि केहीले यसलाई संगठनभित्र अस्वस्थ प्रतिस्पर्धा बढाउने कदमका रूपमा व्याख्या गरिरहेका छन् ।