काठमाडौं । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् ।
कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गरेका उनी अहिले डेरी मालिक बन्न सफल भएका छन् ।
रानाले २ लिटर दूधबाट व्यवसाय सुरु गरेका हुन् । अहिले उनी दैनिक १ हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् ।
‘भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ,’ रानाले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।’
सुरुवातमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे । त्यही लगन र परिश्रमले उहाँलाई राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बने । गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक २० हजार रुपैयाँदेखि २६ हजार रुपैयाँसम्म तलब दिएर उहाँले कामदार राखेका छन् ।
‘२ लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो । अहिले १ हजार ५०० लिटर दूध सङ्कलन हुन्छ,’ उनले भने ।
यसै व्यवसायबाट रानाले करिब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति समेत जोडेका छन् । दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको रानाले बताए ।
‘यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु,’ उनले भने ।