गगन थापाले जिम्मेवारी पूरा नगर्दा महाधिवेशनमा ढिलाइ भएको काँग्रेस संस्थापन पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन पक्षधर समूहले महामन्त्री गगन थापामाथि कार्य सम्पादनमा उदासीनता देखाएको आरोप लगाएको छ । उक्त समूहको भनाइमा थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण समितिको जिम्मेवारी निर्वाह नगर्दा पार्टीको महाधिवेशन तयारी प्रभावित भएको छ ।

पोखरामा बुधबार सम्पन्न भेलामा सहभागी अधिकांश महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूले थापाको निष्क्रियताले पार्टीको संगठनात्मक गति सुस्त बनाएको बताएका छन् । उनीहरूले विशेष महाधिवेशनको कुरा उठाएर आफ्नै कमजोरी ढाकछोप गर्न खोजिएको दाबीसमेत गरे ।

भेलाको अध्यक्षता गरेका गण्डकी प्रदेश कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठले सदस्यता नवीकरण स्थगित हुँदा युवा पुस्ताको सहभागिता कमजोर बनेको बताए ।

श्रेष्ठले भने, ‘क्रियाशील सदस्यता बाँड्ने कार्य रोकेर कसरी नयाँ पुस्ता समेटिन्छ ? आमूल परिवर्तनका कुरा गर्नेहरूले नै संगठन सुदृढ पार्ने कामबाट पछि हट्नु दुर्भाग्य हो ।’

उनका अनुसार महाधिवेशनको तयारीमा आवश्यक तदारुकता नदेखाउने केन्द्रीय पदाधिकारीहरूले अब आत्मसमीक्षा गर्नुपर्छ । जिम्मेवारी पूरा गर्न नसक्नेले पद त्याग्नैपर्ने उनको भनाइ छ ।

भेलामा वक्ताहरूले पार्टी नेतृत्वले संगठन सुदृढीकरणलाई प्राथमिकता नदिँदा तल्लो तहसम्म निराशा फैलिएको भन्दै जिम्मेवार पदाधिकारीहरूलाई जवाफदेही बन्न आह्वान गरे । 

थापाको संयोजकत्वमा गठन गरिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अझै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य अघि बढाउन नसकेकाले आगामी १५औं महाधिवेशनको तयारी प्रक्रिया अन्योलमा परेको भन्दै भेलाले गम्भीर चासो व्यक्त गरेको छ ।

Share News