काठमाडौं । गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि केही दिनका लागि स्थगन हुने भएको छ । बिहीवार (आज)को बैठकमा दुई सहमहामन्त्री, दुई महामन्त्री र एक उपसभापतिले मात्र धारणा राखेपछि कम्तीमा दुई दिनका लागि बैठक स्थगित गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको मिति निर्धारण गर्ने उद्देश्यले असोज २८ बाट बैठक सुरु गरेको थियो । तर, करिब एक महिना बितिसक्दा पनि नेतृत्वले ठोस निर्णय लिन नसक्दा बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
पार्टी नेतृत्वबीच महाधिवेशनको मिति र स्वरूपका विषयमा फरक मत रहँदा बैठक लामो समयदेखि निष्कर्षमा पुग्न सकेको छैन । केही नेताहरूले मंसिरको अन्त्यतिर वा पुषको सुरुवातमै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने अर्को पक्षले संगठन विस्तार, क्रियाशील सदस्यता अद्यावधिक र आन्तरिक एकता सुदृढीकरणका कारण समय थपिनुपर्ने बताउँदै आएको छ ।
यसबीचमा सभापति शेरबहादुर देउवाको अनुपस्थितिले पनि बैठकको निर्णय प्रक्रियामा ढिलाइ भएको देखिन्छ । देउवा कात्र्तिक ११ गते उपचारका लागि सिङ्गापुर गएका थिए । प्रस्थानअघि उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । खड्काले असोज २८ गतेदेखि कार्यवाहकको भूमिकामा बैठक सञ्चालन गरिरहेका छन् ।
कार्यवाहक सभापति खड्काको संयोजनमा बैठक सञ्चालन भइरहे पनि महत्वपूर्ण निर्णयहरू देउवा फर्किएपछि मात्र टुंगो लाग्ने कांग्रेस उच्च स्रोतले जनाएको छ । ‘सभापति फर्किएपछि मात्र महाधिवेशनको मिति, नीति–कार्यक्रम र संगठनात्मक निर्णयहरू गरिने तयारी छ,’ स्रोतले भन्यो ।
देउवा सिङ्गापुरमा उपचार सकेर कार्त्तिक २८ गते भोलि शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको बुझिएको छ । उनी फर्किएलगत्तै बैठक पुनः सुरु गरी बाँकी कार्यसूचीका विषयमा निर्णय गरिने बताइएको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका सबै केन्द्रीय सदस्यलाई १० मिनेटको बोल्ने समय दिइएको छ । ‘सबै सदस्यले आफ्नो धारणा राखेपछि मात्र पार्टी निर्णयमा पुग्ने परिपाटी भएकाले बैठक लामो देखिएको हो,’ पौडेलले भने ।
हालसम्म अधिकांश केन्द्रीय सदस्यले आफ्नो विचार राखिसकेका छन् । बिहीवारको बैठकमा दुई सहमहामन्त्री, दुई महामन्त्री र एक उपसभापतिले बोलेपछि छलफल समाप्त हुने र बाँकी नेताहरूको धारणा र निर्णय लेखनका लागि बैठकलाई दुई दिनका लागि स्थगित गर्न लागिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीको उच्च स्रोतका अनुसार सभापति देउवा फर्किएपछि मात्रै बैठकले महाधिवेशनको मिति र अन्य रणनीतिक निर्णयहरू टुंग्याउँनेछ । देउवा फर्किएलगत्तै बैठकमार्फत बाँकी विषयहरूमा छलफल गरी अन्तिम मिति प्रस्ताव गर्ने तयारी भइरहेको बताइएको छ ।
तर, केही नेताहरूले बैठक बारम्बार स्थगित हुनु र निर्णय टारिनु नेतृत्वको निर्णय क्षमताको कमजोरीको संकेत भएको बताएका छन् । उनीहरूका अनुसार कांग्रेसले आफ्नो आन्तरिक प्रक्रिया छिटो टुंग्याउन सकेन भने संगठनगत गतिहिनता अझ गहिरिने जोखिम छ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठक स्थगित हुनु र देउवा फर्किनुबीच प्रत्यक्ष सम्बन्ध छैन । ‘देउवा फर्किने र बैठक स्थगन हुने संयोग मात्रै हो,’ उनले भने, ‘विगतदेखि नै बैठकमा सबै सदस्यको धारणा सुनेपछि निर्णय लेख्न केही दिनको अन्तराल राख्ने परम्परा रहँदै आएको छ ।’
महरका भनाइमा पार्टीले निर्णय लेखन, प्रस्ताव संशोधन र सहमति जुटाउने प्रक्रियामा पनि समय लाग्ने भएकाले बैठक स्थगित हुने सामान्य अभ्यास हो ।
स्रोतका अनुसार सभापति देउवाले आफ्नो उपचारबाट फर्किएलगत्तै शीर्ष नेताहरूसँग सघन परामर्श गरी बैठकलाई अन्तिम चरणमा लैजाने तयारी गरेका छन् ।
नेपाली कांग्रेसको बैठकले अहिलेसम्म ठोस निर्णय लिन नसके पनि पार्टी नेतृत्वले आगामी दुई–तीन दिनभित्र महाधिवेशनको मिति निर्धारण र अन्य विषयहरूमा सहमति जुटाउने संकेत गरेको छ ।
पार्टीभित्रको सहमति, सभापति देउवाको स्वास्थ्य र फर्किएपछिको पहलले अब बैठक कुन दिशातर्फ जान्छ भन्ने कुराले कांग्रेसको आगामी राजनीतिक मार्गचित्र निर्धारण गर्ने देखिएको छ ।