काठमाडौं । नेकपा माओवादीबाट विभाजित जनार्दन शर्मा समूहले प्रगतिशील राष्ट्रिय अभियानले आफ्नो केन्द्रीय संयोजन समिति घोषणा गरेको छ । समितिमा विभिन्न पेशा, क्षेत्र र समुदायका ३१ जना व्यक्तिहरू समावेश गरिएको अभियानले जनाएको छ ।
लक्ष्मण पन्तले जानकारी गराएअनुसार घोषित समितिको सूचीमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बु, सफलता राई, पुजन सिंह, अर्चनन्द यादव, लक्ष्मण गुरुङ, प्रकाशचन्द्र पाण्डे, राजु ओझा मगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञवल्लभ शर्मा लगायतलाई समेटिएको छ ।
यस्तै, किरातीको टिममा क्षितिज सापकोटा, बाबुराम नेपाली, किसन कुमार विक, सलीम पुन, गेहेन्द्र ढकाल, नारायणी शर्मा, झिमबहादुर मल्ल, गौखबहादुर केसी रहेका छन् ।
प्रगतिशील अभियानमा जितल कुमारी, वैरागी देवकोटा, जन्मदेव जैसी, टेकनार भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डाक्टर अच्युत भट्ट, विमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन् ।
अभियानले मुलुकमा प्रगतिशील विचार, समावेशी विकास र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउने लक्ष्य लिएको जनाएको छ । नवगठित समितिले संगठन विस्तार, कार्यक्रम व्यवस्थापन तथा आगामी राष्ट्रिय अभियानका योजना तयार गर्ने जिम्मेवारी पाएको छ ।
नेकपा माओवादीबाट पार्टीका उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, विदेश विभाग प्रमुख ओम शर्मा र अर्का नेता लक्ष्मण पन्तले एकता प्रक्रियामा नगई विद्रोह गरेका थिए । यस समितिमा ती नेताहको नाम देखिएको छैन ।
समितिका सदस्यहरू देशका विभिन्न भूगोल र सामाजिक पृष्ठभूमिबाट आएका छन् । अभियानका अनुसार यो संयोजनले नयाँ नेतृत्व र साझा प्रगतिशील धारलाई सशक्त रूपमा अभिव्यक्त गर्ने अपेक्षा गरिएको छ ।
