राष्ट्रिय परिचयपत्र बनेको छ ? अब मतदाता नामावली घरै बसीबसी बन्ने

काठमाडौं । निर्वाचन आयोगले अबदेखि राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नागरिकलाई मतदाता नामावलीमा दर्ता गर्न निर्वाचन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । 

आयोगले (बिहीबार)देखि लागू हुने नयाँ प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूले अनलाइनमार्फत मात्र फारम भरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको हो । यस प्रणालीले नागरिकका लागि सेवा सहज र समय बचत हुने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार अनलाइन फारम भरेपछि नागरिकको राष्ट्रिय परिचयपत्रमा रहेका विवरणहरू नाम, जन्ममिति, ठेगाना र नागरिकता सम्बन्धी जानकारी स्वतः मतदाता नामावलीमा समायोजन हुनेछन् । 

यसकारण अब मतदाता नामावली दर्ताका लागि छुट्टै कागजात बुझाउन वा कार्यालय पुगेर फारम भर्न आवश्यक हुनेछैन ।

निर्वाचन आयोगका अनुसार यो प्रविधिमैत्री पहलले मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई दुरुस्त, पारदर्शी र विश्वसनीय बनाउने आयोगले बताएको छ । आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार यसले ग्रामीण भेगका नागरिकलाई समेत अनलाइनबाटै सेवामा पहुँच दिने र कार्यालयमा हुने भीड घटाउने छ ।

आयोगले राष्ट्रिय परिचयपत्र नबनाएका व्यक्तिले भने पहिलेको जस्तै तरिकाबाट नै दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ । 

अनलाइन प्रणाली सञ्चालनसँगै आयोगले मतदाता नामावलीमा हुने त्रुटि र दोहोरो दर्ता घट्ने विश्वास व्यक्त गरेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए । 

Share News