महाधिवेशन विवाद समाधानका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक आज

काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक विवाद समाधान तथा आसन्न निर्वाचनका तयारीका सन्दर्भमा आज (शुक्रबार) दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक बोलाएको छ । 

पार्टीले २१ फागुनमा तय भएको निर्वाचनलाई मध्यनजर गर्दै महाधिवेशन गर्ने नगर्ने विषयमा आफ्नो अन्तिम धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

विधानत केन्द्रीय समितिको बैठक चलिरहेकोले सम्पादन समितिको अनौपचारिक बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको धोबीघाटस्थित पार्टी कार्यालयमा बस्नेछ । 

हाल पार्टीभित्र समयमै महाधिवेशन हुने कि नहुने भन्ने विषयमा मतभेद बढ्दै गएपछि सहमति निकाल्न शीर्ष नेतृत्व सक्रिय बनेको छ । 

एक पदाधिकारीका अनुसार आजको बैठकले चुनाव अघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने कि नल्याउने विषयमा टुंगोमा पुग्ने प्रयास गर्नेछ ।

नेतृत्वको भूमिकाबारे उठेका आन्तरिक आलोचना, महाधिवेशनको समयतालिका, संगठनात्मक तयारी तथा आगामी निर्वाचनका रणनीतिलाई केन्द्रमा राखेर हुने आजको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । 

Share News