काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले केही दिनमात्रै सञ्चालनमा ल्याएको सवारीसाधनको लाइसेन्स वितरण प्रणाली पुनः बन्द भएको जनाएको छ । विभागका अनुसार सूचना प्रविधि प्रणाली डेटा सेन्टरमा प्राविधिक समस्या आएको भन्दै पुनः अनिश्चितकालका लागि शुक्रबारदेखि बन्द भएको हो ।
विभागका सूचना अधिकारी गणेश भट्टराईले आइडीएल इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा लाइसेन्सका लागि आवेदन भर्ने बन्द भएको जानकारी दिए । उनका अनुसार प्राविधिक समस्याका कारण यी दुवै प्रणाली गत कार्तिक १६ गतेदेखि आंशिक रूपमा अवरुद्ध हुँदै आएका थिए ।
तर समस्या समाधान नहुँदा आज शुक्रबारदेखि अर्को सूचना नआएसम्मका लागि दुवै प्रणाली पूर्ण रूपमा बन्द रहने भट्टराईले जानकारी दिए ।
प्रणाली बन्द हुँदा नयाँ लाइसेन्स आवेदन, नवीकरण, श्रेणी थप, तथा अन्य डिजिटल सेवा प्रभावित भएका छन् । विभागले सेवाग्राहीहरूलाई अनावश्यक भीडभाड नगर्न र थप सूचना नआएसम्म काउन्टरमा नआउन आग्रह गरेको छ ।
प्राविधिक समस्याका कारण ड्राइभिङ लाइसेन्सको वितरण पूर्णरूपमा सञ्चालनमा ल्याउन नसकिएको हो ।सूचना अधिकारी भट्टराईले हालै बनेपामा भएको एक कार्यक्रममा लाइसेन्सको छपाइ परीक्षण मात्र गरिएको जानकारी दिए ।
भट्टराईका अनुसार केही समयअघि सञ्चारमन्त्रीको उपस्थितिमा बनेपामा लाइसेन्स छपाईको टेस्ट गरिएको थियो । यो परीक्षणको क्रममा करिब ४/५ सय प्रति कार्ड छापिएको र ती कार्ड अहिले गुणस्तर परीक्षणका लागि सुरक्षा विभागमा पठाइएको छ।
‘सञ्चार माध्यममा ५०० देखि १००० प्रति छाप्ने भन्ने समाचार आए पनि त्यो परीक्षणका लागि मात्र थियो । त्यसपछि अन्य छपाइ भएको छैन र वितरण कार्य पनि सुरु भएको छैन,’ भट्टराईले विकास न्युजसँग भने ।
उनले वास्तविक छपाई र वितरणका लागि थप प्रक्रियाहरू पूरा हुन बाँकी रहेको जानकारी दिए । विभागले हाल एप्लिकेशन सङ्कलन र डेटा इन्ट्री लगायतका अन्य नियमित सेवाहरू भने सञ्चालन गरिरहेको छ । यद्यपि कार्यालय भवनको पुन:निर्माण कार्य अझै सकिएको छैन ।
विभागले हाल अस्थायी रुपमा पालमुनिबाटै सेवा दिइरहेको उनले जानकारी दिए । स्मार्ट लाइसेन्सको वितरण सुरु गुणस्तर परीक्षणको नतिजा र थप छपाइ प्रक्रिया सम्पन्न भएपछि मात्र यो सम्भव हुने उनको भनाइ छ । विभागले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र चाँडै नै सेवा पुनः सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ ।
