काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत भदौ २३ गतेको ‘नव–युवा आन्दोलन र २४ गतेका दिन देखिएको विध्वंसपछि मुलुक असामान्य राजनीतिक अवस्थाबाट गुज्रिन बाध्य बनेको भन्दै वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन् ।
उनले शुक्रबार जारी वक्तव्यमार्फत संविधानमाथि अतिक्रमण र प्रतिगमनका प्रयासका बीच मुलुकलाई स्थिरता, लोकतान्त्रिक पद्धति र राष्ट्रिय एकताको मार्गमा फर्काउन सबै पक्षले गम्भीर भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
राजनीतिक अन्योलता, अनिश्चितता र संवैधानिक संस्थाहरूमा परेको चुनौतीका कारण राष्ट्रियता, लोकतन्त्र तथा नागरिक अधिकारमै खतरा उत्पन्न भएको पोखरेलले उल्लेख गरेका छन् ।
‘दैनिक जीवन सामान्य देखिए पनि मुलुक राजनीतिक रूपमा गम्भीर अनिश्चिततामा छ,’ उनले भने, यो अवस्थाबाट देशलाई निकास दिन ऐतिहासिक जिम्मेवारी हामी सबैको काँधमा आएको छ ।’
पोखरेलले नवयुवापुस्तामा देखिएको असन्तुष्टि, आक्रोश र आकांक्षालाई बेवास्ता गरेर अघि बढ्ने प्रयास सफल नहुने भन्दै त्यसले स्थापित गर्न खोजेको मानकलाई ग्रहण गर्दै राजनीतिक दलहरूले आफ्नो कार्यशैली अद्यावधिक गर्नुपर्ने बताए ।
उनले २४ गतेको घटनाका दोषीहरूलाई उन्मुक्ति दिनु उचित नहुने पनि बताउँछन् ।
आफू स्कुले विद्यार्थी समयदेखि भूमिगत संघर्ष, जेल–जीवनदेखि संसदीय अभ्यास र नेतृत्वका विभिन्न तहसम्म सक्रिय रहेको उल्लेख गर्दै पोखरेलले नेकपा एमालेले प्रत्येक राष्ट्रिय संकटमा नेतृत्वदायी भूमिका निभाएको दाबीसमेत गरे ।
उनले मुलुकलाई पुनः लोकतान्त्रिक पद्धति, राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउन एकताको लागि अपील गरेका छन् ।
आगामी मंसिर २७–२९ मा हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले देशको ध्यान तानेको बताउँदै पोखरेलले भदौ २३–२४ पछिको परिस्थितिले पार्टीका विगतका निष्कर्ष अद्यावधिक गर्न आवश्यक भएको बताए ।
विधान महाधिवेशनबाट पारित राजनीतिक, संगठनात्मक तथा विधान सम्बन्धी प्रस्तावहरू वर्तमान परिस्थितिमा पर्याप्त नहुने हो भन्दै उनले महाधिवेशनले नयाँ निष्कर्ष निकाल्नुपर्ने आवश्यकता औंल्याउँछन् ।
पोखरेलले मंसिर १३ गते देशभर एकैदिन प्रतिनिधि चयन हुने कार्यक्रममा जबजको संगठनात्मक सिद्धान्तअनुसार उत्साहपूर्वक सहभागी हुन उनले सम्पूर्ण सदस्यलाई अपील गरेका छन् ।
संविधानविपरीत गरिएको संसद विघटनको खारेजी र घोषित मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माणका लागि जनदबाब आवश्यक भएको पोखरेलको भनाइ छ ।
यही लक्ष्यसहित एमाले जनपरिचालनमा सक्रिय रहेको जानकारी दिँदै उनले कार्तिक २९ गते देशभर र मंसिर ६ गते काठमाडौंमा हुने जागरण प्रदर्शनमा सहभागी हुन आग्रह गरे ।