आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । 

आयोगले शुक्रवार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । 

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ । 

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार दर्ताका लागि दलले संवैधानिक र कानूनी आधारहरू पूरा गरेको प्रमाणित गर्नुपर्नेछ । 

उनले निर्वाचन प्रयोजनको लागि आयोगमा दल दर्ता गर्न यसअघि नै आयोगमा दर्ता भएको हुनुपर्ने, विगतका वर्षहरूका लेखापरीक्षणहरू आयोगमा बुझाएको, केन्द्रीय समितिको बहुमतले निर्णय गरेको, विधान तथा नियमावली अद्यावधिक गरेको, संविधान र निर्वाचन ऐनअनुसार लोकतान्त्रिक चरित्र पूरा गरेको तथा विधानमा तोकिए अनुसार महाधिवेशन सम्पन्न भएको हुनुपर्ने बताए । 

१९ जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर आगामी फागुन २० मा बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते चुनाव हुन लागेको हो । 

जेनजी विद्रोहपछि गठित नागरिक सरकारले प्रतिनिधि सभा विघटन गरी अगामी २१ फागुनमा निर्वाचन गर्दैछ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको बताए । 

उनले परिपत्रकौ डेटाका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गरेसँगै सेवाग्राहीको चाप बढेपछि उत्पन्न भएका प्राविधिक समस्या समाधान इन्जिनियरहरू परिचालन गरेको बताए । 

सबै नागरिकको मताधिकार सुनिश्चित गर्ने उद्देश्यले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको उनको भनाइ छ । 

Share News