सन्तोष परियारले छाडे रास्वपा, जनार्दन शर्मासहित मिलेर नयाँ दल खोल्ने

फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्वप्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । 

उनले कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई लिखित राजीनामा बुझाउँदै पार्टी छोडेको जानकारी दिएका हुन् । 

परियारले जनार्दन शर्मा र सुदन किराती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूसँग सहकार्य गर्ने तयारी गरेको बुझिएको छ । 

माओवादी केन्द्रको विघटनपछि शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका थिए । 

नेकपा माओवादी विद्रोही टिम र विवेकशील पार्टीकी रञ्जु दर्शनासहितको नयाँ दल बनाउनेगरी छलफल चलिरहेको प्रगतिशील अभियानका एक नेताले जानकारी दिए । शर्मा र परियारको टिममा मानुषी यमी भट्टराई पनि जोडिनसक्ने ती नेताले जानकारी दिए ।

हालका दिनमा रास्वपाभित्र पनि असन्तुष्टि बढ्दै गइरहेको छ । यसै क्रममा पूर्वमन्त्री सुमना श्रेष्ठ लगायतका नेताहरू पहिल्यै पार्टीबाट बाहिरिसकेका छन् । गणेश कार्की, निशा डाँगीलगायतका नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको बुझिएको छ ।

Share News