गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

गण्डकी । गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेशसभाले बहुमतले पारित गरेको छ। 
        
प्रदेशसभाको आजको बैठकमा विधेयकलाई पारित गरियोस् भन्ने प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गरेको प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।     
    
यसअघि २०८२ कात्तिक २४ गते प्रदेशसभामा प्रस्तुत भएको विधेयक माथि  दफाबार छलफल गरिएको थियो । 

विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्यहरू गोविन्दबहादुर नेपाली, महेश भट्टराई, सुशीला सिंखडालगायतले भाग लिएका थिए । 
    
गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयानुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यायिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ ।
    
विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले यस कदमलाई विश्वविद्यालय सुधार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए ।
    
गण्डकी विश्वविद्यालयलाई सक्षम, पारदर्शी र प्रतिस्पर्धी शैक्षिक केन्द्र बनाउने दिशामा पारित संशोधनले कानुनी आधार थप सबल बनाएको उल्लेख गर्दै उनले उच्च शिक्षाको गुणस्तर सुधारका लागि यो विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
     
विधेयकले विश्वविद्यालयको संरचना र पदाधिकारी योग्यता र नियुक्ति प्रक्रियामा विभिन्न संशोधन गरेको छ । 
 

Share News