रास्वपालाई कम्युनिष्ट बनाउने प्रयास असफल भएपछि असन्तुष्ट समूह बाहिरिन थालेको प्रवक्ता झाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीभित्र रास्वपालाई कम्युनिष्ट मोडमा लैजाने प्रयास असफल भएपछि त्यस्तो चाहना राख्ने समूह क्रमशः बाहिरिन थालेको दाबी गरेका छन् ।

पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेपछि यस्तो दावी गरेका हुन् ।

उनले भने, ‘रास्वपामा विभिन्न व्यक्तिगत स्वार्थका आधारमा प्रवेश गरेका केही व्यक्तिहरूले अहिले आफ्नै वास्तविक स्वरूप देखाउन थालेका हुन् । रास्वपालाई आफ्नो अनुकूलताअनुसार ढाल्ने, पार्टीमा आफ्नो तजविज चलाउने र संगठनलाई वामपन्थी दिशामा बदल्ने प्रयास हुँदै आएको थियो । जुन असफल भएपछि केही मान्छेले रास्वपा छोडेका हुन् ।’

झाका अनुसार रास्वपारूपी घरमा झ्याल–ढोका आफैले डिजाइन गर्ने कल्पना गरेका केही व्यक्तिहरू त्यो गर्न नसकेपछि पार्टीबाट बाहिरिन थालेका हुन् ।

‘रास्वपालाई कम्युनिष्ट बनाउने सोच राख्नेहरूले त्यो सम्भव नदेखेपछि पार्टी छोडेका हुन् । अब बुझ्नुस रास्वपा पुरै लोकतान्त्रिक भयो,’ उनले भने ।

Share News