काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १८ दिनको सिंगापुर उपचारपछि नेपाल फर्किएलगत्तै पार्टीभित्र महाधिवेशनसम्बन्धी देखिएको विवाद समाधान गर्न सक्रिय भएका छन् ।
शुक्रबार राति काठमाडौं आएपछि उनले शनिबारदेखि नेताहरूसँग अनौपचारिक भेटघाटलाई तीव्रता दिएको देउवा निकट स्रोतले बताएको छ ।
देउवाले गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति नियुक्त गरेका थिए । कार्यवाहक सभापति खड्काले शनिबार बिहान देउवालाई पछिल्लो एक महिना बसेको केन्द्रीय समिति बैठकमा भएको छलफल र महाधिवेशन प्रक्रियालाई लिएर बढेको असन्तुष्टिबारे जानकारी गराएका थिए ।
देउवा निकट स्रोतले खड्काले उक्त जानकारी गराएपछि देउवाले अनौपचारिक भेटघाट बढाएको बताएको छ ।
स्रोतका अनुसार खड्कासँगको विस्तृत संवादपछि देउवाले पार्टीभित्र बढ्दो विवाद चिस्याउने उद्देश्यले प्रवक्ता डाक्टर प्रकाशशरण महत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदसहितका नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।
महाधिवेशनको तयारी, सदस्यता विवाद र समय तालिकासम्बन्धी असहमति पार्टीभित्र मुख्य विवादको विषय बनिरहेका बेला देउवाको अनौपचारिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेताहरूका अनुसार देउवाले औपचारिक रूपमा निर्णय लिने स्थिति नबने पनि उनले आन्तरिक तनाव बढ्न नदिने र महाधिवेशन प्रक्रियालाई छलफलमार्फत अघि बढाउने संकेत दिएका छन् ।
पार्टीभित्र नेतृत्वको भूमिकाबारे बढ्दो बहसका बीच देउवाको सक्रियताले कांग्रेसलाई महाधिवेशनतर्फ एकीकृत रूपमा अघि बढाउन महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ ।