मेक्सिकोमा सरकारविरुद्ध हजारौं मानिसहरूको प्रदर्शन, झडपमा १२० घाइते

काठमाडौं । मेक्सिको सिटीमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा १२० मानिस घाइते भएका छन् । घाइतेमध्ये १०० जना प्रहरीसमेत रहेको मेक्सिको प्रहरीले जनाएको छ ।

शनिबार प्रदर्शनकारीहरू मेक्सिकोको राजधानीमा बढ्दो हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शिनबामको सरकारविरुद्ध मार्च गर्न सडकमा उत्रिएका थिए । यस्ता प्रदर्शन अन्य सहरहरूमा पनि भएका छन् ।

प्रदर्शनकारीहरूले राष्ट्रपति शिनबाम बस्ने नेशनल प्यालेसको सुरक्षा बार (ब्यारिकेड) को एक भाग तोडे । परिसरको सुरक्षा गरिरहेका प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रयोग गर्यो ।

मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भास्केजले पत्रकारहरूलाई बताएअनुसार अधिकारीहरूले लुटपाट र आक्रमणसहितका विभिन्न अपराधमा २० जनालाई पक्राउ गरेका छन् ।

राष्ट्रपति शिनबामले भनेका छन् कि यो मार्च दक्षिणपन्थी नेताहरूले फन्ड गरेको हो, जसले उनको सरकारको विरोध गर्छन् ।

यो र्याली ‘जेन जेड’ युवाहरूले आयोजना गरेका थिए र यसलाई उच्च–प्रोफाइल हत्याहरूविरुद्ध आवाज उठाउनेहरूबाट समर्थन प्राप्त भएको थियो । यिनै घटनामा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या पनि पर्छ।

मान्जोलाई नोभेम्बर १ का दिन ‘डे अफ द डेड’ पर्वका क्रममा गोली हानिएको थियो ।

Share News