खेल पर्यटन प्रबर्द्धन गर्न पर्यटन बोर्ड र क्यानबीच समझदारी

काठमाडौं । नेपालको खेल पर्यटन प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) ले नेपाल प्रिमियर लिग सिजन–२ प्रबर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । 

यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

सम्झौताअनुसार बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्नेछ । 

छोटो समयमैअन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित भएको एनपीएल–२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ । 

बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई नेपालमा अन्तर्राष्ट्रियस्तरका इभेन्ट आयोजना गर्नसक्ने प्रमुख खेलका रूपमा लिइएको छ । एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा गरिएको छ ।

एनपीएल- २ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस्‌बाट गरिने भएको छ । जसले गर्दा विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि विशेषगरी एनपीएल–२ ले–खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए ।

अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर, तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्व–स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटनका अवसरहरू विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिजम डेस्टिनेशन’का रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।

एनपीएल–२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभवहरू र सांस्कृतिक समृद्धिलाई समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदयीमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।

Share News