टियु क्रिकेट ग्राउण्डमा ठडिए एक अर्ब लगानीका फ्लड लाइट र आकर्षक प्याराफिट, दोस्रो चरणको काम गर्न १० अर्ब बजेट

एनपीएलको सबै तयारी पुरा

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइटको उद्घाटन र १० हजार सिट क्षमताको प्यारापेटसहितको पहिलो चरणको निर्माण कार्य सम्पन्न भई नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ। 

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सम्पन्न यस कार्यले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय नियमन तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई रंगशाला हस्तान्तरण गरेको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री  कुलमान घिसिङले फ्लडलाइटको उद्घाटन गरे ।

कीर्तिपुर मैदान नेपालको क्रिकेट इतिहासको साक्षी रहँदै आएको छ । डिभिजन ५, ४, ३ को विश्व च्याम्पियनसिपदेखि २०१४ मा टी-२० विश्वकपमा नेपालको सहभागिता, २०१५ मा डिभिजन २ बाट डिभिजन १ मा उक्लिने क्रम र २०१८ मा ओडीआई प्लेइङ नेशन बन्दासम्म यस मैदानको महत्त्वपूर्ण भूमिका रहेको छ ।

null

सहरी विकास मन्त्रालयका अनुसार पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापेट निर्माण र छ वटा हाई मास्ट फ्लडलाइट जडान गरिएको छ । 

यसको लागि प्यारापेटमा ४९ करोड २५ लाख र फ्लडलाइटमा ४७ करोड ३७ लाख रुपैयाँ लगानी भएको छ । 

यी पूर्वाधारहरू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आवश्यक लक्स (चम्किलोपन) पुरा हुने गरी निर्माण गरिएका छन्, जसमा डिएमएक्स प्रविधि समेत जडान गरिएको छ ।

मन्त्री घिसिङले दोस्रो चरणको कामको लागि सरकारले करिब १० अर्बको गुरुयोजना स्वीकृत गरिसकेको र आगामी २ देखि ३ वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । 

null

उनले यो सम्पन्न भएपछि कीर्तिपुर मैदान पूर्ण पूर्वाधारले सम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो दिनलाई निकै ठूलो ऐतिहासिक दिन बताउँदै नेपाली क्रिकेटप्रेमीहरूको डे-नाइट क्रिकेट हेर्ने सपना पूरा भएकोमा खुशी व्यक्त गरे । 

उनले यस कार्यका लागि पूर्ववर्ती र वर्तमान सरकारलाई धन्यवाद दिँदै हरेक प्रदेशमा फ्लडलाइटसहितको रंगशाला बनाउनुपर्नेमा जोड दिए।

null

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पोलहरू मात्रै ठडिएको होइन, नेपाली खेलप्रेमीहरूको सपना ठडिएको छ भन्दै यो पहिलो आफ्नै लगानीमा फ्लडलाइटसहितको रंगशाला बनेकोमा गर्व व्यक्त गरे । 

यस्तै, कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुखले कीर्तिपुरको प्रांगणमा अन्तर्राष्ट्रिय स्तरको खेल हुँदा आफूलाई गौरवान्वित महसुस भएको बताउँदै यसले कीर्तिपुरको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आशा व्यक्त गरे ।

पहिलो चरणको निर्माण कार्यमा संलग्न परामर्शदाता र निर्माण व्यवसायीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । दोसो संस्करणको एनपीएलको उद्धघाटन कार्यक्रम सोमबार प्रधानमन्त्री सुशिला कार्कीले गर्ने छिन् । 

Share News