एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक संकटसँग जुध्न सक्षम पार्टी भएको र पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको टिप्पणी गरेका छन् । दैलेखको पटांगीनी, दुल्लूमा आइतबार जिल्ला कमिटीद्वारा आयोजित जन सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई “निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । 

महासचिव पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई “राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र”का रूपमा चित्रण गरे । 

उनले भने, ‘सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्र विरुद्धको गम्भीर अपराध हो । हामी संकटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ ।’

उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपील गरे । 

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेलले मुलुकलाई दिगो स्थिरता दिन आउँदो निर्वाचनमा एमाले एक्लै बहुमतसहित अगाडि आउनुपर्ने धारणा राखे । 

कँडेलले भने, ‘जनताको रोजाइमा पहिलो पार्टी एमाले नै हो । अब नेता-कार्यकर्ता सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ ।’

एमाले दैलेख जिल्ला कमिटीका अध्यक्ष सूर्यबहादुर शाहीले जेनजी आन्दोलनपछि बनेको सरकारले असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गरे मात्र मुलुकले मार्गनिर्देशन पाउने दाबी गरे । उनका अनुसार एमाले र जनता एक भएर अघि बढे मात्र देश संकट मुक्त बन्न सक्छ । 

शाहीले कार्यकर्तालाई संगठन सुदृढीकरण र जनतासँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्दै मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सबैलाई सक्रिय हुन अपिल गरे । 

Share News