काठमाडौं । आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आइतबार निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलको नेतृत्वमा कांग्रेसको टोली आयोग पुगेको थियो । आयोगमा आवश्यक कागजात, प्रतिनिधि विवरण, विधान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्दै दल दर्ता औपचारिक रूपमा सम्पन्न भएको पौडेलले जानकारी दिए ।
‘आज निर्वाचन आयोगमा गई दल दर्ताको सबै काम पुरा गरेको छौं,’ उनले भने ।
दर्ता प्रक्रिया सम्पन्न भएपछि कांग्रेस अब आगामी निर्वाचनका लागि संगठित तयारीमा जुट्ने अवस्थामा पुगेको पौडेलले बताए ।
महाधिवेशनको मिति तोक्न नसकेको कांग्रेसले चुनावी अभियानलाई प्राथमिकता दिँदै आएको छ । आयोगमा दर्ता सकिएसँगै अब कांग्रेस औपचारिक रूपमा निर्वाचन प्रतिस्पर्धामा प्रवेश गरिसकेको छ ।
आयोगबाट औपचारिक प्रमाण–पत्र प्राप्त भएपछि कांग्रेसले घोषणापत्र तयारी, उम्मेदवार सिफारिस, संगठनात्मक सक्रियता र गठबन्धनसम्बन्धी अन्तिम निर्णयहरूलाई गति दिने तयारी गरेको छ ।
यो प्रक्रियासँगै कांग्रेसको चुनावी अभियान औपचारिक रूपमा प्रारम्भ भएको मानिएको छ