काठमाडौं । राइड सेयरिङ कम्पनी इनड्राइभले आफ्ना मिहिनेती चालकहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरेको छ । दशैंलाई लक्षित गरी गत भदौ १५ गतेदेखि असोज २६ गतेसम्म (सेप्टेम्बर १ देखि अक्टोबर १३) सञ्चालित यस अभियानमा इनड्राइभका प्ल्याटिनम स्टाटस प्राप्त चालकहरूलाई समावेश गरिएको थियो ।
लगातार तीन सातासम्म हरेकसाता मोटरसाइकल चालकले ४५ वटा र कार चालकले ३५ वटा राइड पूरा गरी प्ल्याटिनम स्टाटस कायम गर्ने चालकहरू ग्राण्ड प्राइजका लागि योग्य भएका थिए । यस अभियानको लक्की ड्र नोभेम्बर ७ मा इनड्राइभको आधिकारिक टिकटक पेजमार्फत सार्वजनिक गरिएको थियो ।
जसमा यसपटकको ‘प्ल्याटिनम ड्राइभर गिभ अवे’ को तेस्रो संस्करण अन्तर्गत काभ्रेपलान्चोकको तेमाल गाउँपालिका वार्ड नम्बर ४ का हरि पाण्डेले टाटा एक्सप्रेस टीआईभी कार जितेका छन् भने दोलखाका आकाश तामाङले टीभीएस रेइडर बाइक हात पारेका छन् ।
इनड्राइभसँग विगत तीन वर्षदेखि आबद्ध हरि पाण्डेले आफू कार जित्न सफल भएकोमा अत्यन्तै हर्षित भएको बताए ।

हरिबहादुर पाण्डे
उनले भने, ‘यो सपनाजस्तै लागिराछ, अनपेक्षित भयाे। म निकै खुसी छु । न्यूजमा र टिकटकमा हेरेको त थिएँ, तर डाटा नचलेर हेर्न पाइनँ । पछि कम्पनीबाट फोन आएपछि बल्ल मैले जितेछु भन्ने भयो ।’
ग्रान्ड प्राइज अफरको घोषणा भएपछि उनले अझ बढी मिहिनेतका साथ काम गरेको बताए । ‘मैले त झन् इनड्राइभ त पहिलेदेखि नै गरेको हुँ । ग्रान्ड प्राइज अफर आएपछि त झन् अझ मिहिनेतले लगभग १६/१७ घण्टा, बिहानदेखि बेलुका १२ बजेसम्म ननस्टप इनड्राइभमै काम गरे । अरू कम्पनीले पनि बोलाएको थियो, तर इनड्राइभ कम्पनीलाई माया गरिरहेँ,’ पाण्डेले विकासन्युजसँग भने ।
उनी इनड्राइभलाई मन पराउनुको कारणबारे भन्छन्, ‘इनड्राइभमा आफ्नो भाडा (फेयर) आफै तोक्न मिल्छ । कुनै फेयर चित्त नबुझे नलिन पाइन्छ । आफूलाई सुटेबल हुने र राम्रो राइडहरू लिँदै काम गर्न सकिन्छ । लोकेशनहरू पनि चुज गर्न पाइने भएकाले कता जाने हो, त्यो हेरेर आफ्नो गन्तव्यमा मात्र पनि राइड लिन पाइयो । खाना खान जाँदा वा घर जाँदा पनि घरकै लोकेशन हेरेर राइड लिन सकिन्छ ।’
अन्य इनड्राइभ चालकहरूलाई उनले भने, ‘राम्रोसँग मेहनत गरेर इनड्राइभको काम गर्नुस्, तपाईंहरूले पनि जित्न सक्नुहुन्छ । ’ उक्त टाटा एक्सप्रेस कारलाई ३७ लाख रुपैयाँ पर्छ ।
आकाश तामाङले ६ महिनामै बाइक जिते
दोलखाका आकाश तामाङले इनड्राइभमा आबद्ध भएको ६ महिनामै टिभिएस रेइडर (कार्बोरेटर) बाइक जितेका छन् । आफू ‘प्ल्याटिनम’ ड्राइभर वर्गमा परेको र राम्रो राइड गरेकोले यो सफलता हात लागेको उनले बताए ।
तामाङले भने, ‘दुःख अड्चन त धेरै आए । घामपानी नभनिकन काम गरियो । मान्छेको सेवाका लागि हिँडियो । अहिले बाइक उपहार पाएँ । निकै खुसी लागेको छ।’
आकाश तामाङ
तामाङ र पाण्डे दुवै कर पनि तिर्न नपर्ने भएपछि झन् धेरै खुसी छन् । यस्तै, ग्राण्ड प्राइजका अतिरिक्त साप्ताहिक लक्की ड्रमार्फत १५ वटा वानप्लस नर्ड सी फोर लाइभ फाइभ जी स्मार्टफोन, ३० वटा अल्टीमा टम् वान नाइन्टी थ्री र ३० वटा अल्टीमा नोभा प्रो स्मार्ट वाच पनि प्रदान गरिएका थिए ।
समारोहमा पाँच जना स्मार्टफोन विजेताहरू- तिलक थापा मगर, विजय बस्नेत, राजेन्द्र महर्जन, श्याम कुमार लिम्बु र कार्तिमान बेगी मगरलाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।

चालक कम्पनीको ढुकढुकी
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अप्रेशन स्पेसलिस्ट सुनिता जिमी राईले यो तेस्रो संस्करणको ‘प्ल्याटिनम ड्राइभर गिभ अवे’ कार्यक्रम भएको जानकारी दिइन् । यसअघि मार्चमा पल्सर बाइक, र दोस्रो संस्करणमा टाटा एक्सप्रेस टीआईभी र टिभिएस रेडर बाइक पनि उपहार स्वरूप दिइएको उनले बताइन् ।
उनले भनिन्, ‘प्रत्येक बाइक राइडरले आफ्नो प्ल्याटिनम स्टाटस मेन्टेन गर्दै जति धेरै राइड, त्यति धेरै जित्ने मौका पाउनुहुन्छ । बाइक राइडरहरूलाई ४५ र कार/ट्याक्सी राइडरहरूलाई ३५ राइड क्याम्पेन अवधिभर पूरा गरी प्ल्याटिनम स्टाटस कायम राखेपछि ग्रान्ड प्राइजमा इन्ट्री पाउनुहुन्छ ।’

सुनिता जिमी राई
राईले इनड्राइभको लागि ड्राइभर पार्टनरहरू ढुकढुकी भएको बताइन् ।
उनले थपिन्, ‘हाम्रा लागि राइडर दिलको ढुकढुकी हुन् । त्यसैले हामी कुनै पनि अवसर, चाडपर्वलाई कहिल्यै खाली जान दिन्नौं र उहाँहरूको मेहनत र परिश्रमलाई सम्मान गर्नको लागि हरेक अवसरमा गिभ अवे र धेरै अफरहरू ल्याइरहन्छौं ।’
राईले इनड्राइभको विशेषता सबैले रुचाएको पनि बताइन् । नयाँ ग्राहकहरूलाई इनड्राइभमा जोडिन आग्रह गर्दै उनले इनड्राइभमा आफ्नो भाडा प्रस्ताव गर्न सकिने, ड्राइभर चुज गर्न सकिने, २४/७ सेफ्टी फिचरहरू उपलब्ध भएको र ८ लाखसम्मको बीमा कभरेज (मृत्यु वा दुर्घटनामा अपाङ्गता भएमा) र ८० हजारसम्मको मेडिकल खर्चको कभरेज रहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘ढुक्क भएर इनड्राइभमा राइड लिनुस्, आफूले रोजेको ड्राइभरसँग आफ्नो गन्तव्यमा सुरक्षित साथ इन्स्योर्ड भएर पुग्नुहोस् ।’
इनड्राइभमा आबद्ध हुनका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आईओएस प्रयोगकर्ताले एप स्टोरमा गई इनड्राइभ एप डाउनलोड गर्न सक्नेछन् । एउटै एपबाट ड्राइभर र युजर दुवैको काम गर्न सकिने भएकाले यो निकै सहज रहेको राईले बताइन् ।
राईले कम्पनीले चालक साझेदारहरूको कामलाई सधैं सम्मान गर्ने र उनीहरूको प्रोत्साहनका लागि कुनै पनि अवसर नछोड्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘हामी हाम्रा ड्राइभर पार्टनरहरूलाई उहाँहरूको कामको सम्मान गर्नको लागि कुनै पनि मौका या अवसर छोड्दैनौं । ’
कार्यक्रममा इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेल र कन्टेन्ट मार्केटिङ म्यानेजर अंकिता ज्ञवाली लगायत इनड्राइभका अन्य पदाधिकारीहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
इनड्राइभले आफ्ना चालक साझेदारहरूको आय वृद्धि र प्रोत्साहनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको र यसबाट नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना भएको दाबी गरेको छ।