काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पाँचजना केन्द्रीय पदाधिकारीले पार्टी अध्यक्षलाई संयुक्त रूपमा पत्र लेख्दै पार्टीभित्र उत्पन्न गम्भीर राजनीतिक अवस्थाबारे ध्यानाकर्षण गराएका छन् ।
जारी गरेको पत्रमा उनीहरूले पार्टीभित्र बढ्दो विभाजन, नेतृत्व तहमा देखिएको निष्क्रियता र पछिल्लो राजनीतिक घटनाक्रममा स्पष्ट रणनीति नदेखिएको आरोप लगाएका छन् ।
पछिल्लो जेनेजी आन्दोलनपछि देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आए पनि जसपाले त्यसअनुसारको प्रभावकारी निर्णय नलिएको उनीहरूको दाबी छ ।
उनीहरूले पार्टीको केन्द्रीय समिति र कार्यकारी समितिको बैठक नबसेको, मुलुकको परिस्थितिअनुसार रणनीति बनाउन आवश्यक छलफल नभएको तथा पार्टी संरचना पुनर्गठनसमेत ठप्प भएको आरोप लगाएका छन् ।
पार्टीभित्र निर्णय प्रक्रिया अवरुद्ध हुँदा कार्यकर्तामा निराशा, असन्तुष्टि र अविश्वास बढ्नुका साथै विभिन्न राजनीतिक शक्तिसँग पार्टीको सम्बन्ध पनि ओझेलमा परेको नेताहरू बताउँछन् ।
नेताहरूले अध्यक्ष अशोक राईलाई लेखेको पत्रमा जारी वार्ताहरूमा स्पष्ट नहुँदा वाम ध्रवीकरणको पहल ओझेलमा पर्नु चिन्ताको विषय भएको स्पष्ट पारेका छन् ।
नेताहरूले मंसिर १५ गतेका लागि डाकिएको केन्द्रीय समितिको बैठकलाई सकारात्मक रूपमा लिए पनि त्यसअघि पार्टी अध्यक्षले स्पष्ट राजनीतिक मार्गनिर्देशन, पार्टी संगठन सक्रियता र एकीकृत राजनीतिक धारणा सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।
संयुक्त पत्रमा हस्ताक्षर गर्नेहरूमा संघीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय समितिका उपाध्यक्ष राजबहादुर विष्ट, उपाध्यक्ष पशुपति बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गानन्द देवकोटा, केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा. पुष्करराज कार्की र पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घतु रहेका छन् ।
उनीहरूले पार्टीभित्रको असन्तुष्टि समाधान गर्दै आगामी राजनीतिक परिस्थिति सामना गर्न नेतृत्वले चाँडै स्पष्ट कदम चाल्नुपर्ने माग गरेका छन् ।
