सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईं रिहा

काठमाडौं । सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै पक्राउ परेका दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो । 

प्रसाईंलाई छोरा निराजनको जिम्मा लगाएर रिहा गरिएको हो । गत सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर स्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको थियो ।

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई मध्यरातमा पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले आज ७ मंसिरदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका थिए । तर,  अन्तिम समयमा उनको समूहले आन्दोलन फिर्ता लिएको थियो । 

Share News