कोरियाबाट फर्किएका युवालाई व्यवसाय सुरु गर्न ५ वर्ष ब्याज अनुदानसहित ‘५० लाखसम्म ऋण’

काठमाडौं । कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) र कृषि विकास बैंक लिमिटेड (एडीबीएल) बीच ‘कोरिया फर्केका नेपाली श्रमिकहरूको लागि वित्तीय पहुँच विस्तार’ कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा सहमति भएको छ । 

यो योजना २०२२ सेप्टेम्बर २३ मा कोरियाली सरकार र नेपाली सरकारबीच ‘कोरिया फर्केका श्रमिकको स्थायी पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण’ परियोजनाका लागि गरिएको सम्झौताअनुसार अगाडि बढाइएको हो ।

सम्झौतामा कोइकाका देश निर्देशक मूहोन कंग र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीई‌‌ओ) गोविन्द गुरुङले हस्ताक्षर गरे । 

अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले साक्षीका रूपमा हस्ताक्षर गरे ।

यस कार्यक्रमको मुख्य उद्देश्य कोरिया फर्केका नेपाली श्रमिकहरूलाई व्यवसाय तथा उद्यमशीलता विकासका लागि आवश्यक वित्तीय पहुँच सहज बनाइ स्थिर वातावरण तयार गर्नु हो । 

यस अन्तर्गत योग्य लाभग्राहीले कृषि विकास बैंकबाट अनुदानसहितको ऋण पाउनेछन् । उक्त ऋण पाँच वर्षसम्म ब्याज अनुदानसहित उपलब्ध हुनेछ ।

कोइकाले कार्यक्रमका लागि २५ लाख अमेरिकी डलर (लगभग ३२ करोड रुपैयाँ) उपलब्ध गराउनेछ । यो रकम पूर्णतः ब्याज अनुदानका लागि मात्र प्रयोग हुनेछ । एडीबीएलले कार्यक्रमका लागि करिब १.२ अर्ब रुपैयाँ ऋण पूँजी उपलब्ध गराउनेछ ।

कार्यक्रममार्फत करिब २०० देखि २५० जना कोरिया फर्केकालाई सहयोग पुग्ने अनुमान गरिएको छ, जसअन्तर्गत औसत ५० लाख रुपैयाँसम्मको ऋण प्रदान गरिनेछ। कार्यक्रम २०२६ देखि २०२८ सम्म सञ्चालन हुनेछ । व्याज अनुदान पाँच वर्षसम्म उपलब्ध रहन्छ ।

यस कार्यक्रममार्फत कोरिया फर्केकाहरूले आफ्नो सीप प्रयोग गरी सफल उद्यम स्थापना गर्न सक्ने जनाइएको छ।

Share News