मधेस सरकारले स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक भत्ता र किसानलाई राहत दिने

फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेश सरकारले प्रदेशमा स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सरोजकुमार यादवले १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका बेरोजगार युवाले मासिक २ हजार भत्ता दिने निर्णय गरेको जानकारी दिए ।

मुख्यमन्त्री यादवका अनुसार प्रदेशमा हाल करिब १ लाख ५० हजार स्नातक बेरोजगार युवा रहेको अनुमान गरीएको छ । युवाहरुलाई भत्ता वितरणका लागि सरकारले ३५ करोड खर्च हुने अनुमान गरेको यादवले जानकारी दिए ।

यस्तै, बैठकले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति पुगेका किसानलाई प्रतिकट्ठा हजार ५सय रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । किसानलाई राहत प्रदान गर्ने कार्यमा ३६ करोड रुपैयाँ खर्च हुने मुख्यमन्त्री यादवले जानकारी दिए ।

यस वर्ष लामो समयको खडेरी र असोजमा परेको अविरल वर्षाको डुबानका कारण मधेस प्रदेशका किसान निकै प्रभावित भएकाले प्रदेश सरकारले राहतको प्याकेज ल्याएको मुख्यमन्त्री यादवले जानकारी दिए । 

मनसुन अवधिभर पानीको कमी भएपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्रसमेत घोषणा गरेको थियो ।

Share News