काठमाडौं । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कैलाली जिल्ला कमिटीका अध्यक्ष र सचिवसहितको बहुमत कमिटीले नेपाली कम्युनिष्ट पार्टीसँगको एकता प्रक्रियामा नजाने निर्णय गरेको छ।
कैलाली जिल्ला अध्यक्ष विमल जोशीका अनुसार १२१ सदस्यीय जिल्ला कमिटीमध्ये ९१ सदस्य उपस्थित बैठकले उक्त निर्णय गरेको हो । जिल्ला कमिटीको निर्णयमा जिल्ला सचिव दीर्घ जोशी पनि सहमत रहेको जोशीले बताए ।
अध्यक्ष जोशीका अनुसार तत्कालै अन्य कुनै पार्टीमा जाने निर्णय नगरिएको भए पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित नहुने निर्णय गरिसकिएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा समाहित निर्णय गरेपनि आफूहरू कता जाने भन्नेबारे चाँडै नै सार्वजनिक गर्ने तयारीमा जोशीको टिम रहेको बताइएको छ ।
यसैबीच, शुक्रबार पुष्पकमल दाहाल र माधवकुमार नेपाल दुवै जनाले धनगढीको सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो सभाको तयारी डा. भीम रावलको नेतृत्वमा भइरहेको बताइएको छ ।
दाहाल नेपालले सम्वोधन गर्ने एकता सन्देश सभाको पूर्वसन्ध्यामा एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटीले गरेको निर्णयले सुदूरपश्चिममा उक्त पार्टीको प्रभाव कम हुने आँकलन गरिएको छ ।

