काठमाडौं । आगामी निर्वाचनलाई वातावरणमैत्री बनाउन निर्वाचन आयोगले यसपटक आचारसंहितामा हरित निर्वाचनसम्बन्धी नयाँ प्रावधान समेटेको छ । आचारसंहिताको बुँदा नम्बर मा ३६ राजनीतिक दल, उम्मेदवार तथा उनीहरूका प्रतिनिधिहरूले अब वातावरणमैत्री आचरण अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रावधान समेटिएको छ ।
आचारसंहितामा मतदातालाई हरित निर्वाचनमा सहयोग पुग्नेगरी वातावरणमैत्री कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिएको आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।
सहप्रवक्ता न्यौपानेका अनुसार सभा, जुलुस, र्याली वा घरदैलो कार्यक्रम गर्दा प्लास्टिक तथा पोलिथिनजस्ता अजैविक सामग्रीको प्रयोग गर्न निषेध गरिएको छ ।
न्यौपानेका अनुसार प्रचारप्रसारका क्रममा सवारीसाधन प्रयोग गर्दा इलेक्ट्रिक वा नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने प्रावधान थपिएको छ । त्यस्तै, निर्वाचन प्रचारका कार्यक्रमहरू सकिएपछि प्रयोग भएका सबै सामग्री संकलन गरी वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्न दल र उम्मेदवार दुवै बाध्य हुने न्यौपाने जानकारी दिए ।
सभा, जुलुस तथा र्याली जस्ता गतिविधि गर्दा वातावरणमा हानिकारक असर नपर्नेगरी कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ ।
आचारसंहिता कार्यान्वयनको अनुगमनका लागि आयोगले तीन संरचना गठन गर्ने न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, दश भन्दा बढी सदस्यीय निर्वाचन आचारसंहिता अनुगमन टोली र मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समितिको गठन हुनेछ ।
यी समितिहरूले आचारसंहिता उल्लंघनका घटना देखिएमा दृश्य वा भिडियो छायांकन गर्ने तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर प्रमाण संकलन गर्ने अधिकार पाउने न्यौपानेले बताए ।
निर्वाचन आयोगले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै हरित निर्वाचन प्रावधानले निर्वाचन प्रक्रियालाई दिगो र जिम्मेवार बनाउने अपेक्षा व्यक्त गरेको न्यौपाने दाबीसमेत गरे।