काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरिन् ।
अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिए ।
उनले भने, ‘हामी स्पष्ट छौं । चुनावमा भाग लिनुपर्छ, लिन्छौं नै । चुनाव नै अबको एक मात्र निकास हो ।’
उनले तराई-मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गरे ।
आजै प्रधानमन्त्री कार्कीले बालुवाटारमा एमालेका नेताहरूसँग पनि छलफल गरेकी थिइन् ।