कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, पुस अन्तिम सातामा महाधिवेशन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । 

बैठकमा पुस अन्तिम सातामा पार्टीको १५औं महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका पेस गर्ने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ ।

नेताहरूका अनुसार प्रस्तावित कार्यतालिकाबारे शीर्ष र प्रभावशाली नेताहरूबीच सहमति बनेको छ ।

महाधिवेशनको मितिलाई लिएर यतिबेला पार्टीभित्र देखिएको मतभिन्नता घट्दै गएसँगै आजको बैठक सुरु भएको हो । 

प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत अब पुसमै महाधिवेशन गर्न तयार भएपछि समायोजन गरिएको मध्यमार्गी प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने तयारी गरिएको हो ।

यसअघि मंसिर ६ गतेदेखि लगातार कांग्रेसका बैठकहरू पटक–पटक सारिँदै आएको थियो । केन्द्रीय कार्यसमितिको आजको बैठकले महाधिवेशनको टुंगोसहितको कार्यतालिका पेस गर्ने र आवश्यक प्रक्रियाहरू अघि बढाउने अपेक्षा गरिएको छ ।

Share News