काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकले सहमतिमा सार्वजनिक गरेको तालिकाअनुसार १५ औं महाधिवेशन हुनेमा कांग्रेसकै नेताहरूले आशंका व्यक्त गरेका छन् ।
संस्थापन इतर पक्षका नेता जगदीश्वर नरसिंह केसीले सार्वजनिक गरेको तालिकामा महाधिवेशन गर्न सम्भव नरहेको बताएका हुन् ।
केसीले एक वर्षमा नसकिएको क्रियाशील सदस्यता नवीकरण र वितरण अब केही दिनमा नसकिने दावी गर्छन् ।
केन्द्रीय समितिले गर्न नसकिने महाधिवेशनको निर्णय गरेको उनको भनाइ छ ।
‘एक सातामा वडादेखि प्रदेशसम्मको अधिवेशन सम्भव हुँदैन । वडाबाट सुरु भएको दश दिनमा केन्द्रीय महाधिवेशन सकाउने तालिका अवैज्ञानिक छ । महाधिवेशन नगर्ने र विशेष महाधिवेशनको प्रस्तावलाई भुत्ते बनाउने उद्देश्यसहित यो तालिका आयो,’ उनले भने ।