काठमाडौं । सरकारले ५ लाख रुपैयाँभन्दा बढीको कारोबार बैंकबाट गर्नुपर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गतेदेखि ५ लाख वा सो भन्दा बढीको कारोबार गर्दा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने निर्णय गरेको हो ।
‘आगामी माघ १ गतेदेखि एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्नेछ,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने ।
उनका अनुसार कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै, बैठकले जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्विरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।
यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको मन्त्री खरेलले बताए ।
यसैगरी श्रीलङ्कामा भीषण बाढी पहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरुप २ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा. ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ ।
राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरिएको छ । मन्त्रिपरिषदका अन्य निर्णय मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने पनि मन्त्री खरेलले बताए ।