१०९.२० प्रतिशत बढ्यो​​​​​​​ अलैंची निर्यात, मुसुरो दाल ४८१ प्रतिशत

काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा अलैंची निर्यात १०९.२० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको हो ।

४  महिनामा १ हजार ८२३.९० मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा १ अर्ब ९० करोड २ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको उनले बताए । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ४ महिनामा चियाको निर्यात ३७.७० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा २ अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । 

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट १३४.८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा, सुठो ३.२० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी प्लाउड ५२.७० प्रतिशत, अम्रिसो २३.९० प्रतिशत र फलामे पाता निर्यातमा ९७.३० प्रतिशतले कमी आएको छ  । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनामा ७ अर्ब ९६ करोड ७ लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । 

Share News