काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन् ।
बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रही छलफल भइरहेको छ ।
बैठकमा नेपाल सरकारका मन्त्रिहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी रहेकाके प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, सुरक्षा निकायका प्रमुखसमेत रहेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।
निर्वाचनका लागि आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन् ।
बैठकमा को को थिए सहभागीहरु ?
बैठकमा निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर, आयुक्त सगुनशमशेर राणा, सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई, सहसचिव राजेन्द्रकुमार केसी छन् । त्यस्तै दलहरूबाट गगन थापा, पुष्पा भुसाल, शंकर पोखरेल, महेश बर्तौला (एमाले), शक्ति बस्नेत, प्रकाश ज्वाला (नेकपा), शिशिर खनाल, सोबिता गौतम (रास्वपा), राजेन्द्र गुरुङ, भुवन पाठक (राप्रपा), प्रकाश अधिकारी (जसपा नेपाल), र नरेन्द्र चौधरी (जनमत) रहेका छन्
।
सरकारबाट प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल , कानुनमन्त्री अनिलकुमार सिन्हा सञ्चारमन्त्री जगदीश खरेल र, ४ वटै सुरक्षा निकाय प्रमुख उपस्थित छन् ।