काठमाडौं । काठमाडौंको कर्णालीलाई हेर्ने नजरिया अझै निम्छरो छ । सायद यही सोंचले होला दलहरूमा पनि कर्णालीको उपस्थिति पातलै देखिन्छ । एघारौं महाधिवेशनको सँघारमा रहेको नेकपा एमालेमा पनि कर्णाली प्रदेशको उपस्थिति त्यति राम्रो देखिँदैन ।
दशौं महाधिवेशनले निर्वाचित गरेको तहमा पदाधिकारीमा कर्णाली प्रदेश शून्य छ । स्थायी समितिमा गोरखबहादुर बोगटी र यामलाल कँडेल मात्रै छन् । कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २७ जना मात्रै रहँदा पोलिटब्यूरोमा जम्मा ३ जना मात्रै सदस्य रहेका छन् ।
एमाले कर्णालीका नेताहरू ११ औं महाधिवेशन पछि पुराना सबै मानक भत्काउँदै नयाँ इतिहास लेख्ने बताउँछन् । कर्णालीबाट तीन नेताहरू पदाधिकारीमा डेब्यु गर्ने तयारीमा रहेको एमाले कर्णालीका एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार कँडेल, बोगटी र केन्द्रीय सदस्य विष्णु रिजाल तिनै जनाले पदाधिकारीमा डेब्यु गर्ने तयारी गरिरहेका छन् ।
हाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । हुम्लाका बोगटी अत्यन्तै सादगी र इमान्दार नेता मानिन्छन् । रिजाल प्रचार विभागका उपप्रमुख रहिसकेका नेता हुन् ।
दोहोरिने दाउमा पुराना, डेब्यू गर्ने थोरै
दशौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटीमा कर्णालीबाट प्रतिनिधित्व गर्ने २७ जना केन्द्रीय सदस्य सबैले एघारौं महाधिवेशनबाट पनि दोहोरिन चाहेको कर्णालीका एक नेताले जानकारी दिए ।
केन्द्रीय सदस्यहरू सीपी घर्ती, नवराज रावत, ठम्मर विष्ट, मोहनमाया ढकाल, विनोद शाही, राजेन्द्र शाही, धर्म रेग्मी, निरज आर्चाय, सूर्यकुमारी श्रेष्ठ, मीना रखाल, भैरवसिंह श्रेष्ठ, डम्बर सिंहसहित सबै केन्द्रीय सदस्यहरू दोहोरिने तयारीमा रहेको ती नेताले जानकारी दिए ।
डेब्यू गर्ने चाहना राख्ने नेताको संख्या अरू प्रदेशको तुलनामा कम रहेको कर्णाली प्रदेश कमिटीका एक पदाधिकारीले जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटीमा २५ भन्दा धेरै केन्द्रीय सदस्य ४० वर्षभन्दा तल्लो उमेर समूहका रहने ती नेताले बताए । उनका अनुसार ६ जना ४० वर्ष तलका उम्मेदवार हुँदैछन् ।
अखिलको पृष्ठभूमिबाट एमाले केन्द्रीय सदस्यमा डेब्यू गर्न चाहनेमा नारायण घर्ती रहेका छन् । नवयुवा उमेर समूहबाट पार्टी केन्द्रमा डेब्यू गर्न चाहेका घर्ती अखिलको पूर्वउपाध्यक्ष हुन् ।
यस्तै, तपेन्द्र शाही, कल्पना थापा र मेनका पछाईं नवयुवा उमेर समूहबाट एमाले केन्द्रको राजनीतिमा प्रमोसन हुन खोजेका नेता हुन् ।
भूगोलका नेताहरू टेकराज पछाईं, सूर्य थापा, रुद्र शाही, नन्दराम देवकोटा र शक्तिलाल महतले पनि केन्द्रीय सदस्यमा डेब्यु गर्ने चाहना राखेको कर्णालीका एक नेताले बताए ।