काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन आयोगले औपचारिक रूपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका अध्यक्ष डा. विजय सुब्बाले सार्वजनिक गरेको कार्यतालिका अनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया भोलि (सोमबार) बिहान ७ बजेदेखि विधिवत रूपमा सुरु हुनेछ ।
यस्तो छ निर्वाचनको कार्यतालिका
सार्वजनिक तालिका अनुसार पर्सि (मंगलबार) निर्वाचन प्रक्रियाका महत्त्वपूर्ण चरणहरू पूरा हुनेछन् । मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।
सोही दिन बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोधको समय तोकिएको छ ।
छानबिन र अन्तिम नामावलीः बिहान साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन गरी १० बजे त्यस उपर छानबिन हुनेछ । त्यसको १५ मिनेटपछि मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
नेतृत्वका लागि उम्मेदवारी दिने तर पछि फिर्ता लिन चाहनेहरूका लागि मंगलबार दिउँसो ३ देखि ५ बजेसम्मको समय छुट्ट्याइएको छ । यो समयसीमा सकिएलगत्तै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ, जसले चुनावी मैदानमा को-को भिड्दै छन् भन्ने पक्का गर्नेछ ।
एमालेको नयाँ नेतृत्व छान्ने निर्णायक घडी अर्थात् मतदान कार्यक्रम भने पुस १ गते हुनेछ। आयोगका अनुसार सो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ ।
