काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी तहमा दुई समूहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानल खडा गरेर निर्वाचनमा उत्रने तयारी गरेसँगै महाधिवेशनको राजनीतिक सरगर्मी बढेको छ ।
यद्यपि सार्वजनिक रूपमा नेताहरूले प्यानल नबनाई व्यक्तिगत क्षमताका आधारमा प्रतिस्पर्धा गर्ने दाबी गरिरहेका छन् । तर महाधिवेशनस्थलमा देखिएको गतिविधि र आन्तरिक छलफलले स्पष्ट रूपमा दुई फरक समूहबीच संगठित प्रतिस्पर्धा हुने संकेत गरेको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारीका उम्मेदवारहरू टुंगो लगाइसकेको छ । सो समूहबाट अध्यक्षमा ईश्वर पोखरेल स्वयं उम्मेदवार बन्ने भएका छन् । उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपालको नाम अन्तिम सूचीमा परेको छ ।
त्यस्तै, महासचिव पदमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । पार्टीभित्र संगठन सञ्चालन र नीतिगत बहसमा सक्रिय भूमिका खेल्दै आएका पाण्डेलाई महासचिवको रूपमा अघि सारिनु अर्थपूर्ण रूपमा हेरिएको छ ।
उपमहासचिव पदका लागि योगेश भट्टराई , कर्ण थापा, गोकुल बास्कोटा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेलको उम्मेदवारी टुंगो लागेको छ ।