ओली र पोखरेलले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि दुई जना नेताको उम्मेदवारी दर्ता भएको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । यससँगै एमालेको नेतृत्व चयन प्रक्रिया निर्णायक मोडमा पुगेको छ ।

अध्यक्ष ओलीले पार्टीलाई विगतमा नेतृत्व गरेको अनुभव, संगठन विस्तार र सरकार सञ्चालनका क्रममा लिएको भूमिकालाई आफ्नो मुख्य आधार बनाउँदै पुनः अध्यक्षमा दाबी गरेका छन् । उनले पार्टीलाई एकताबद्ध राख्दै आगामी दिनमा बलियो जनाधारसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ओली पक्ष अनुभवी र प्रभावशाली नेताहरूलाई समेट्दै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि पार्टीभित्रको आन्तरिक लोकतन्त्र, संस्थागत नेतृत्व र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाउने एजेन्डासहित उम्मेदवारी दिएका छन् । पोखरेल पक्षले संगठनमा सुधार, नीति कार्यक्रममा स्पष्टता र नेतृत्वमा पुस्तान्तरणको आवश्यकता औँल्याउँदै वैकल्पिक नेतृत्व प्रस्तुत गर्ने प्रयास गरेको बताएको छ ।

निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा दुई नेताले मनोनयन गरेका छन् ।

अध्यक्ष पदमा दुई शक्तिशाली नेताबीच प्रतिस्पर्धा हुनुले महाधिवेशनस्थलमा उत्साह र चासो बढेको छ । प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूमा दुवै पक्षले समर्थन जुटाउने प्रयास तीव्र बनाएका छन् । विशेषगरी पदाधिकारी र केन्द्रीय समिति चयनमा दुवै प्यानलको शक्ति सन्तुलन महत्त्वपूर्ण हुने देखिएको छ ।

Share News